दार्चुला । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालको पुरुष क्रिकेट टोलीले अमेरिकालाई पाँच विकेटले हराएको छ । अमेरिकाले दिएको २ सय ३१ रनको लक्ष्य नेपालले ४९ ओभरमा पाँच विकेट गुमाउँदै पूरा गरेको हो । नेपालको जितमा कुशल भुर्तेलले ८४ रन बनाए । त्यस्तै रोहित पौडेलले अविजित अर्धशतक बनाउँदा विनोद भण्डारी ३७ रन बनाएर आउट भए ।
बलिङतर्फ अमेरिकाका नोस्थुश केन्जिजे र निसर्ग पटेलले दुई दुई विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित ओभरमा नौ विकेट गुमाउँदै दुई सय ३० रन बनायो । अमेरिकाका लागि मोनान्क पटेलले शतकीय पारी खेले । एक सय १४ बल खेलेका पटेलले एक छक्का र नौ चौकाको मद्दतमा एक सय रन बनाएर आउट भए ।
बलिङतर्फ नेपालका विक्रम सोब, सन्दीप लामिछाने र सुशन भारीले दुई–दुई विकेट लिए । यस्तै कुशल मल्लले एक विकेट लिए । लिगमा नेपाल पाँच खेलमा ६ अङ्क जोडर नेपाल छैटौँ स्थानमा छ । ओमान १० खेलमा १६ अङ्क जोडेर शीर्ष स्थानमा र १३ खेलमा १२ अङ्क जोडेको अमेरिका दोस्रो स्थानमा रहेको छ ।
नेपालले दोस्रो खेलमा भोलि मङ्गलवार ओमानसँग खेल्नेछ । यस्तै तेस्रो खेलमा अमेरिकासँग आउँदो शुक्रवार खेल्नेछ भने आइतवार ओमानसँग खेल्ने छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया