बैतडी । पछिल्लो समय बैतडीमा ‘स्क्रब टाइफस’ रोगको जोखिम बढ्दै गएको छ । यहाँका स्वास्थ्य संस्था र अस्पतालमा उपचारका लागि आउने बिरामीमा स्क्रब टाइफस देखिन थालेपछि जोखिम बढ्दै गएको हो ।
जिल्ला अस्पतालमा उपचारका लागि आउने बिरामीमा पनि स्क्रब टाइफस देखिएको अस्पतालका सूचना अधिकारी हरिश पन्तले जानकारी दिनुभयो । विगतका वर्षमा फाट्टफुट्ट मात्र देखिए पनि यस वर्ष स्क्रब टाइफसका बिरामीको सङ्ख्या बढेको छ । उहाँले भन्नुभयो, “वर्षायामको सुरुबाटै बिरामीको सङ्ख्या बढेको छ, साउनदेखि हालसम्म २२ जनामा स्क्रब टाइफस पुष्टि भइसकेको छ ।”
जिल्लाका सबै स्थानीय तहबाट आएका बिरामीमा स्क्रब टाइफस देखिने गरेको छ । त्यसमध्ये पनि सदरमुकामस्थित दशरथ चन्द नगरपालिका र दोगडाकेदार गाउँपालिकाबाट उपचारका लागि जिल्ला अस्पताल आएका बिरामीमा बढी यो रोग देखिएको सूचना अधिकारी पन्तले बताउनुभयो ।
जिल्ला अस्पतालमा बढी जसो भाइरल ज्वरोका बिरामी उपचारका लागि आउने गरेका छन् । अस्पतालमा हाल दैनिक १०० बिरामी उपचारका लागि आउने गरेकामा ५० जना भाइरल ज्वरोका आउने गरेका जिल्ला अस्पतालका प्रमुख डा वसन्तराज जोशीले बताउनुभयो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया