दार्चुला । संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले बझाङका चार जना कैदी बन्दीको सजाय माफी दिएकी छन्। राष्ट्रपति कार्यालयका अनुसार बझाङका कर्तव्य ज्यान मुदा लागेका २ जना र बहुविवाह गरेका २ जना गरी ४ जनालाई राष्ट्रपतिले कैद सजाय माफी गरेकी हुन्।
जसमा कर्तव्य ज्यान मुदा लागेका दुर्गाथली गाउँपालिका – ५ का चक्र जप्रेल २०७० असोज २९ गतेदेखि जिल्ला कारागार बझाङमा कैद सजाय भोग्दै आएका थिए। उनलाई सर्बोच्च अदालतले १५ बर्ष कैद सजाय तोकेको थियो। सबै गरी जप्रेलले ७ वर्ष ११ महिना ३ दिन जिल्ला कारागारमा रहेका थिए। बाँकी सजाय माफी गरिएको छ।
मष्टा गाउँपालिका – ३ घर भएका रामचन्द्र खड्का पनि कर्तव्य ज्यान मुदामा २०७७ साउन ४ गते देखी जिल्ला कारागार बझाङमा कैद सजाय भोग्दै आएका थिए। खड्कालाई जिल्ला अदालत बझाङ बाट २ बर्ष कैद सजाय तोकेकोमा १ वर्ष १ महिना १० दिन जिल्ला कारागार बझाङमा रहेका हुन्। बाँकी सजाय माफी गरिएको छ।
त्यस्तै, बहुविवाहको मुद्दा लागेका केदारस्युँ गाउँपालिका – १ का शिवराज भण्डारी २०७७ साल कार्तिक २७ गते देखी जिल्ला कारागारमा कैद सजाय भोग्दै आएका थिए। जिल्ला अदालत बझाङले भण्डारीलाई १ बर्ष कैद सजाय सुनाएको थियो। भण्डारीले १० महिना ५ दिन जिल्ला कारागार बझाङमा रहेका थिए। बाँकी सजाय माफी गरिएको छ।
त्यस्तै, बहुविवाहकै मुदा लागेका जयपृथ्वी नगरपालिका – ३ का राजेन्द्र खड्का २०७७ भदौ ९ गते देखी जिल्ला कारागार बझाङमा कैद सजाय भोग्दै आएका थिए। जिल्ला अदालत बझाङले खड्कालाई २ वर्ष कैद सजाय सुनाएको थियो।खड्का १ बर्ष २३ दिन जिल्ला कारागार बझाङमा रहेका थिए। बाँकी सजाय माफी गरिएको छ।
सर्बोच्च अदालत र जिल्ला अदालत बझाङबाट विभिन्न मितिमा भएका फैसला बमोजिम लागेको कैद कट्टा गरी माफी मिनाहा गरेपछि आज ४ जना जिल्ला कारागार बझाङबाट छुटेका जिल्ला कारागार बझाङका जेलर धनबहादुर घर्तीले जानकारी दिनुभयो ।
यसैबिच संविधान दिवसको अवसरमा बैतडीमा एकजना कैदीको बाँकी कैद मिनाहा भएको छ । कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका मेलौली नगरपालिका १ का ललित भनिने सूर्य दयालको कैद मिनाहा भएको जिल्ला कारागार बैतडीले जनाएको छ ।
८ बर्ष २ महिना कैद भुक्तान गरेका दयालको बाँकी ५ बर्ष २ महिना कैद मिनाहा भएको जिल्ला कारागार बैतडीका जेलर अनिल तिवारीले जानकारी दिनुभयो । दयाल २०७० साल श्रावण ४ गते कर्तव्य ज्यान मुद्दामा कारागार चलान भएका थिए ।
संविधान दिवसको अवसरमा कम्तीमा ५० प्रतिशत कैद भुक्तान गरेका मध्ये असल चालचलन भएका कैदीहरुको बाँकी कैद मिनाहा हुँदै आएको छ । सोही अनुसार दयालको बाँकी कैद मिनाहा भएको जेलर तिवारीले बताउनुभयो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया