दार्चुला । कञ्चनपुरमा सशस्त्र प्रहरीमाथि भारतीय तस्करको समूहले निर्घात कुटपिट गरेको छ। जिल्लाको दोधारा चाँदनी नगरपालिका वडा नम्बर ८ मा भारतीय तस्करले सशस्त्र प्रहरीका तीन जना जवानमाथि कुटपिट गरेका हुन्।
तस्करको कुटाईबाट घाइते प्रहरी जवानहरुको दोधारा चाँदनी हेल्थ पोस्टमा उपचार भइरहेको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण शैलेश्वरी झलारीका प्रहरी उपरीक्षक विरेन्द्रसिंह ऐरले तरस्करी नियन्त्रणका क्रममा ढुंगामुढा प्रहार गरेको बताउनुभयो । उहाँका अनुसार तस्करलाई नियन्त्रणमा लिने प्रयास गरेपनि सबै भागेका छन्।
सोमबार राति ८ बजे नेपाल–भारत सीमा क्षेत्रमा उक्त घटना भएको हो। नेपाली भूमीमा भारतीय नम्बर प्लेटको मोटरसाइकलमा तस्करले चिनीलगायतका साम्रग्री ओसारपसार गरिरहेको समयमा सशस्त्र प्रहरीले नियन्त्रणको प्रयास गरेको थियो। तर समूहमा आएका तस्करले सशस्त्र प्रहरीलाई कुटपिट गर्नुका साथै नियन्त्रणमा लिइएको मोटरसाइकल र चिनी पनि लगेर गएको स्थानीयले बताएका छन्।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया