दार्चुला । बैतडीको सुर्नया गाउँपालिका ६ मूलखटाली घर भएका बामपन्थी आन्दोलनका अग्रणी नेता एवं समाजसेवी पृथ्वीराज अवस्थीको निधन भएको छ । अवस्थी पछिल्लो समयमा कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १ गेटा बिजौरा बस्दै आउनुभएको थियो । उहाँको बिजौरामै शनिबार बिहान साढे १० बजेतिर ८६ बर्षको उमेरमा निधन भएको आफन्त पदमराज अवस्थीले बताउनुभयो ।
समाज परिवर्तनका लागि लामो समयदेखि संघर्ष गर्दै आएका अवस्थी केही बर्षदेखि अस्वस्थ रहनुभएको थियो। बैतडीमा बामपन्थी आन्दोलनलाई अघि बढाउन अवस्थीको ठूलो योगदान रहेको छ । यस्तै जातीय विभेद अन्त्यका लागि समेत अवस्थीले ठूलो योगदान पुर्याएको स्थानीयहरुले बताएका छन् । २०४६ सालको परिवर्तन पछि एमालेबाट चुनाव समेत लडेका अवस्थी पराजित हुनुभएको थियो । उहाँले चुनाव ताका लगाएको एक भोट एक नोटको नारा धेरै चर्चामा रहेको छ ।
प्रबल जनसेवा (चतुर्थ श्रेणी) मानपद्वीबाट विभूषित भएका अवस्थीले गोरखा दक्षिणबाहु पनि पाउनुभएको थियो । पृथ्वीराज अवस्थीलाई वैचारिक र निष्ठावान नेताका रुपमा लिने गरिन्छ । उनले लामो समयसम्म नागरिक समाज बैतडीको नेतृत्व समेत गर्नुभएको थियो । अवस्थीको निधनमा विभिन्न पार्टीका नेता, व्यक्ति र संघसंस्थाहरुले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया