सुदूरपश्चिममा कांग्रेसले भन्यो, हामी प्रतिपक्षमै बस्छौं

दार्चुला । नेकपा एमालेको विभाजनपछि २५ जेठमा सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत लिनुभएको थियो । एमालेका तत्कालीन वरिष्ठ नेता माधव नेपाल पक्षका १७ जना सांसदले साथ दिँदा मुख्यमन्त्रीले प्रदेशसभाबाट विश्वासको मत पाउनुभएको थियो । त्यसबेला प्रमुख प्रतिपक्षीको भूमिकामा रहेको नेपाली कांग्रेस संसदीय दलको बैठकले विश्वासको मत नपाउने अवस्थामा मुख्यमन्त्रीलाई मत हाल्ने निर्णय गरेको थियो ।

माधव पक्षकै साथले मत पर्याप्त भएपछि कांग्रेसले मतदान प्रक्रियामै भाग लिएन । बरु तटस्थ बस्यो । त्यति बेला नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पक्षका ७ र जनता समाजवादीका २ गरेर ९ जना प्रदेशसभा सदस्यले विपक्षमा मतदान गरेका थिए । तत्कालीन समयमा प्रदेश सरकार जोगाउन भूमिका खेलेको नेपाली कांग्रेस पनि सरकारमा सहभागी हुने चर्चा चलेको थियो । तर नेपाली कांग्रेस पाँच दलीय गठबन्धन बनेका बेला समेत सुदूरपश्चिममा प्रमुख प्रतिपक्षी दलकै भूमिकामा छ । झण्डै सवा दुई महिनापछि सोमबार बसेको सुदूरपश्चिम प्रदेशसभाको बैठकमा समेत कांग्रेस प्रतिपक्षी दलकै बेञ्चमा देखियो । कांग्रेससँगै एमाले र लोकतान्त्रिक समाजवादी पार्टी प्रतिपक्षी दलको बेञ्चमा बसे ।

कांग्रेस संसदीय दलका नेता भन्छन्– अनुकूलता खोज्ने गठबन्धन चाहिँदैन

सुदूरपश्चिम प्रदेश कांग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावलले सुदूरपश्चिममा आफ्नो पार्टी अब प्रतिपक्षमै बस्ने बताउनुभयो । संघमा गठबन्धन सरकार बनेका बेला प्रदेशमा पनि सोहीअनुसारको समीकरण हुने भन्ने चर्चा चलिरहँदा रावलले भन्नुभयो, ‘अहिलेको सरकार आफू सुहाउँदो गठबन्धन बनाउन चाहिरहेको देखिएको छ । यस्तो गठबन्धन हामीलाई चाहिँदैन ।’ रावलले थप्नुभयो, ‘हामीसँग कुनै सरसल्लाह पनि गरेको देखिँदैन । त्यसैले हामी प्रतिपक्षमै रहन्छौं ।’ सरकारमा सहभागी दलहरुमा सत्ताको दम्भ बढेको आरोप लगाउँदै रावलले भूमिकाअनुसार कांग्रेस अगाडि बढ्ने जनाउनुभयो ।

मुख्यमन्त्रीले विश्वासको मत लिने बेला तटस्थ बसेर सहयोग गरेको भए पनि अब भने सरकारको व्यवहारका आधारमा आफ्नो भूमिका देखाउने उहाँको भनाई छ । संसदीय दलका नेता रावलले यस्तो बताए पनि अर्का प्रदेशसभा सदस्य भरतबहादुर खड्काले भने कांग्रेस निर्णय लिन हतार नगर्ने बताउनुभयो ।

माओवादी केन्द्रको नेतृत्वमा रहेको सुदूरपश्चिम सरकारलाई अहिले एकीकृत समाजवादी पार्टीले समर्थन दिएको छ । समाजवादी पार्टीका सांसदहरुले समेत कांग्रेससँग गठबन्धन भए पनि समाजवादीकै समर्थनमा सरकार सुरक्षित रहेकाले उसलाई सरकारमा सहभागी नगराउने बताउँदै आएका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?