दार्चुला । युवा संघ नेपाल बैतडीका सदस्य विजय भाटको हत्या भएको आशंकमा ४ जनाको नाममा किटानी जाहेरी परेको छ । भिरबाट लडेर मृत्यु भएका भनिएका भाटको हत्या भएको परिवारजनले आशंका गरेका छन् । मृतकका बुवा बीरसिंह भाटले जिल्ला सरकारी वकिल कार्यालय मार्फत चार जनाको नाममा किटानी जाहेरी दर्ता गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले बताउनुभयो ।
दशरथचन्द नगरपालिका ५ का अशोक नाथ, लक्ष्मण नाथ, राजेन्द्र नाथ र महेश नाथको नाममा किटानी जाहेरी परेको प्रहरीले जनाएको छ। किटानी जाहेरीपछि प्रहरीले जिल्ला अदालतबाट अनुमति मागेर उनीहरुको नाममा पक्राउ पूर्जी जारी गरिसकेको छ । अहिले चारै जना सम्पर्क बाहिर रहेका प्रहरी निरीक्षक ओझाले बताउनुभयो। मृतक भाटका परिवारले किटानी जाहेरी दिएपछि सो घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
दशरथचन्द नगरपालिका– ५ दमरखोलीका ३० वर्षीय भाटको उपचारको क्रममा गत भदौ ११ धनगढीस्थित माया मेट्रो अस्पतालमा मृत्यु भएको थियो । त्यतिबेला भीरबाट लडेर भाट घाइते भएका भनिएको भएपनि परिवारजनले भने हत्या भएको आशंका गरेका छन् ।
भाट लडेको भनिएको ठाउँमा त्यस्तो भीर नभएको र उनीसंग भएकाहरुले पनि अलगअलग कुरा गर्न थालेपछि छोराको हत्या भएको हुन सक्ने मृतकका बुवा बीरसिंह भाटले बताउनुभयो । घटनाको बिषयमा सत्यतत्य छानबीन हुनुपर्नेमा परिवारजनको जोड छ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया