दार्चुला । कोरोना कहरका बेला लामो समय विद्यालय बन्द हुँदा पठनपाठन प्रभावित भएको भन्दै दार्चुलाका सबै स्थानीय तहले विद्यालयहरुलाई दिने गरेको दशैं बिदा घटाएका छन् । गत वर्षसम्म विद्यालयहरुलाई दशैंको समयमा एक महिना लामो विदा दिदै आएकोमा यो वर्षदेखि सबै पालिकाले दशैं बिदा घटाएका हुन् ।
कोरोना कहरका कारण लामो समयदेखि बन्द रहेका विद्यालयहरु भर्खर खुलेकाले विद्यालयहरु घटस्थापनादेखि असोज ३१ गतेसम्म ११ दिन मात्रै बन्द गर्ने निर्णय गरिएको मार्मा गाउँपालिकाका शिक्षा अधिकृत राजेन्द्रप्रसाद जोशीले जानकारी दिनुभयो । मार्मा गाउँपालिकामा असोज १८ गते बसेको प्रधानाद्यापकहरुको बैठकले दशैं बिदा २१ गतेदेखि ३१ गतेसम्म दिने निर्णय गरेको हो । अपिहिमाल गाउँपालिकाले पनि असोज २१ गतेदेखि ३१ गतेसम्म विद्यालयहरुलाई दशैंबिदा दिने निर्णय गरेको शिक्षा शाखाका प्राविधिक सहायक मदनराज जोशीले जानकारी दिनुभयो ।
नौगाड गाउँपालिकाले दशैं तिहारमा यसअघि चार दिन मात्रै विदा दिने निर्णय गरेकोमा मंगलबार बसेको बैठकले असोज १७ गते गरेको विदासम्बन्धी निर्णय सच्याएको छ । दशैतिहारको सम्बन्धमा थोरै विदा दिदा टाढाका शिक्षकहरु समस्यामा परेको भन्दै निर्णय सच्याउनुपरेको गाउँपालिकाले जनाएको छ । यसअघि गाउँपालिकाले असोज २६ गतेदेखि असोज ३१ गतेसम्म मात्र विदा निर्णय गरेकोमा गाउँकार्यपालिका बैठकले विदा सच्याउँदै असोज २० गतेदेखि कात्तिक २ गतेसम्म विदा दिने निर्णय गरेको हो । शैल्यशिखर नगरपालिकाले समेत पहिले गरेको निर्णय सच्याउदै विदा थप्ने निर्णय गरेको छ ।
महाकाली नगरपालिका, शैल्यशिखर नगरपालिका, मालिकार्जुन गाउँपालिका, दुहुँ गाउँपालिका, व्यास गाउँपालिका र लेकम गाउँपालिकाले असोज २१ गते घटस्थापनादेखि कार्तिक ३ गते कोजाग्रत पुर्णीमासम्म विद्यालयहरुलाई विदा दिने निर्णय गरेका छन् । लेकम गाउँपालिकाले शिक्षा नियमावली २०५९ को नियम ८५ को उपनियम २ अनुसार यो वर्षको दशैं बिदा असोज २१ गते घटस्थापनादेखि कार्तिक ३ गते पूर्णीमासम्म १४ दिन विद्यालयहरुलाई बिदा दिने निर्णय गरेको हो । गत बर्षहरुमा एक महिनासम्म दशैं बिदा दिने गरिएकोमा लामो समयसम्म विद्यालय बन्द हुदा पठनपाठनमा असर पर्ने र पाठ्यक्रमको उद्धेश्य प्राप्त कठिन हुने देखिएकोले १४ दिनमात्रै विदा दिने निर्णय गरिएको लेकम गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बिरबहादुर ऐरले जानकारी दिनुभयो ।
कोरोनाका कारण भदौसम्म विद्यालयहरुमा पठनपाठन कार्य हुन नसकेकाले दशैं बिदा घटाएर पाठ्यक्रमले निर्धारण गरेको उद्धेश्य प्राप्त गर्नुपर्ने आवश्यकता देखिएको स्थानीय तहहरुले बताएका छन् ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया