दार्चुला । कैलाली प्रहरीले चाड पर्व लक्षित सुरक्षा योजनालाई अघि बढाएको छ । प्रहरीले तालिम प्राप्त कुकुरको प्रयोग गरेर सीमा नाका र बसपार्क क्षेत्रमा चेकजाँच गर्न सुरु गरिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले तयार पारेको चाड पर्व लक्षित सुरक्षा योजना अनुसार सीमा नाका, बसपार्क र बढी भिडभाड हुने क्षेत्रहरूमा तालिम प्राप्त कुकुरको प्रयोग गरेर चेकजाँच थालेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीले जानकारी दिनुभयो ।
दसैँ, तिहार र छठ पर्वका बेला सीमा नाकाबाट हातहतियार र लागुऔषध जस्ता वस्तुको ओसारपसार हुन सक्ने कुरालाई मध्यनजर गर्दै चेकजाँचमा तालिम प्राप्त कुकुरको प्रयोग गरिएको उहाँको भनाई छ । सोही अनुसार शुक्रबार जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकेन्द्र सिंह गुरुको कमाण्डमा खटिएको प्रहरी टोली र नेपाल प्रहरीका तालिम प्राप्त कुकुरहरुबाट धनगढी स्थित बसपार्क लगायतका स्थानहरुमा चेकजाँच गरिएको प्रहरी उपरीक्षक अधिकारीले बताउनुभयो ।
जिल्लाको सुरक्षा व्यवस्थालाई त्रुटि रहित, भरपर्दो, विश्वसनीय र मजबुद बनाई जनजीवनलाई सुखमय बनाउनुका साथै जनताहरुलाई पूर्ण रूपमा सुरक्षाको प्रत्याभूति दिलाउन तालिम प्राप्त कुकुरहरू सहित चेकजाँच गर्न थालिएको हो ।
कैलाली जिल्लालाई दुई भागमा विभाजन गर्दै एकीकृत सुरक्षा योजना बनाइएको र एक सय ७३ स्थानमा विशेष टोली परिचालन गरिएको कैलाली प्रहरीले जनाएको छ । प्रहरीले त्रिनगर भन्सार नाकादेखि टीकापुरसम्म विभिन्न स्थानमा नागरिक सहायता कक्ष, राजमार्ग क्षेत्रमा रिफ्रेस सेन्टरको समेत स्थापना गरेको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया