दार्चुला । बैतडीको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा आज भव्य जात्रा लागेको छ । हिजो महासप्तमीका दिन शुरु भएको जात्रा आज महाष्टमीमा रांगा बोकाको बलि सहित सम्पन्न हुने गर्दछ । आज लागेको जात्रामा करिव साढे ३ सय रांगाको बलिदिइएको छ । २ सय ४६ रांगा समितिमा दर्ता गरिएको र १सय बढी रांगा थप आएको हुनसक्ने जात्रा ब्यवस्थापन समितिले जनाएको छ ।
गतबर्ष कोरोनाको प्रकोपका कारण सम्पन्न हुन नसकेको जात्रा यसपालि भने कोरोनाको प्रकोप कम भएकाले धुमधाम संग लागेको छ । यस जात्रामा बैतडी सहित छिमेकी जिल्लाहरु र भारतबाट समेत दर्शनार्थीहरु आउने गर्दछन् । भारतको कुमाउ, गडवालका दर्शनार्थीहरु मकोकामना पुर्ण हुने भन्दै दर्शन गर्न यस जात्रामा आउने गरेकाछन् ।
निङ्गलाशैनी भगवती मन्दिरमा लाग्ने जात्रालाई व्यवस्थित बनाउन दशरथचन्द नगरपालिका वडा नं २ को कार्यालय देहीमाण्डौंले जात्रास्थललाई मदिरा निषेधित क्षेत्र घोषणा गरेको छ । जात्रालाई मार्यादित र व्यवस्थित बनाउनका लागि घटस्थापनादेखि नै देहीमाण्डौं क्षेत्रलाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको वडा अध्यक्ष रनबहादुर बोहराले बताए ।
वडा कार्यालयको निर्णयको कसैले उल्लंघन गरेमा कानुन अनुसार कारवाही हुने बताइएको छ । यस्तै स्थानीय प्रशासनले पनि जात्रा तथा मेला मनाउँदा शान्ति सुरक्षामा खलल पुर्याउने काम कसैले गरेमा कारवाही हुने बताएको छ ।






विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया