सुदूरपश्चिममा पहिरोले २८ जनाको मृत्यु, कम्तिमा २५ बेपत्ता

दार्चुला । सुदूरपश्चिम प्रदेशमा बाढीपहिरोका कारण मृत्यु हुनेको संख्या २८ पुगेको छ। सबैभन्दा बढी डोटीमा १४, बझाङमा सात, बैतडीमा चार, डडेल्धुरामा दुई र कैलालीमा एक जनाको मृत्यु भएको छ। डोटीको सायल गाउँपालिकामा ६ जना, जोरायल गाउँपालिकामा ६ जना, बोगटान फुडसिल गाउँपालिका र शिखर नगरपालिकामा एक एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ।

बझाङमा बाढीपहिरोले ७ जनाको मृत्यु भएको छ। पहिरोमा च्यापिएर खप्तडछान्ना गाउँपालिकामा पाँच जना र थलराका दुई जनाको मृत्यु भएको हो। खप्तड छान्ना गाउँपालिका ४ माझीगाउँका धर्मराज रोकाया, उनकी श्रीमती जयसरा रोकाया र वडा नम्बर ५ कालुखेतीका विरु गिरी, उनकी श्रीमती चन्द्रा गिरी र खप्तड छान्ना गाउँपालिका ५ का धनराज जोशीको पहिरोमा पुरिएर मृत्यु भएको खप्तडछान्ना गाउँपालिकाका बिरेन्द्रबहादुर सिंहले बताउनुभयो। पहिरोमा च्यापिएर मृत्यु भएका सबैको शव स्काइभेटर लगाएर निकालिएको थियो। यस्तै अविरल व्र्षासँगै आएको पहिरोले पुरिएर बेपत्ता भएका थलारा गाउँपालिका डिख्लाका २३ जनामध्ये दुई जनाको शव प्रहरीले फेला पारेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। तर मृतकको सनाखत भने हुन सकेको छैन। गाउँपालिकाको वडा नम्बर ४ डिक्लामा बेपत्ता भएका २३ जनाको खोजीका लागि उद्धार टोली नेपाली सेनाको हेलिकप्टरमार्फत डिख्ला पुगेको छ। पहिरोले तल्लो डिक्ला र माथिल्लो डिक्लाका एक सय ४८ परिवार विस्थापित भएका छन् भने ७ घर पुरिएका छन्। विस्थापित ७ सय जना विद्यालयमा बसिरहेका छन्।

बैतडीको शिवनाथ गाउँपालिका वडा नम्बर ६ बसेडीका रामी पार्कीको घर पहिरोले बगाउँदा उनका २ बुहारी र १ नातिको मृत्यु भएको छ। शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्ण साउदका अनुसार मृत्यु हुनेमा १८ वर्षीया पवित्रा पार्की, २४ वर्षीया भानु पार्की र ३ वर्षीय सोम पार्की रहेका छन्। बैतडीकै सुर्नया गाउँपालिका ५ रामकी बरायलमा घर भत्किँदा ७१ वर्षीया परुदेवी महराको पनि ज्यान गएको छ।

यस्तै सायल गाउँपालिका–६ का १४ बर्षीय सागर कुन्जेडा, ११ बर्षीय आशिष कुन्जेडाको मृत्यु भएको छ। यस्तै सोही गाउँपालिका–१ का ७४ बर्षीष वीरे रोकायाको खोलाले बगाउँदा मृत्यु भएको छ। सायल गाउँपालिका–५ का ५८ बर्षीय लहरे लुहार, ५८ बर्षीय हिरुवा लुहार र ७५ बर्षीय देव डुम्रेलको पहिरोमा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक रवीन्द्र चन्दले जानकारी दिनुभयो । जोरायल गाउँपालिका–३ का ७३ बर्षीय जोगी सार्की, ६१ बर्षीया झुपरी सार्की, सोही गाउँपालिका–४ का शेरवहादुर बिक, मोहन बिक, पवित्रा बिक र सोही गाउँपालिका–१ का सचिन बिकको पनि पहिरोमा पुरिएर मृत्यु भएको छ। शिखर नगरपालिका–११ की ३५ बर्षीया मन्धरा बलायरको पहिरोको ढुङ्गा टाउकोमा लागी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ। यस्तै बोगटान फुड्सिल गाउँपालिका–५ का चन्द्रा नेपालीको मृत्यु भएको छ।

डडेल्धुरामा घरमाथिबाट आएको पहिरोमा पुरिएर गन्यापधुरा गाउँपालिका–१ भात्काडाका ३२ वर्षीय विष्णु अवस्थी र गन्यापधुरा गाउँपालिका–३ बस्ने अन्दाजी ६५ वर्षीय नर्मदादेवी शाहीको खोलाले बगाएर मृत्यु भएको छ। यता कर्णाली नदीको बाढीका कारण कैलालीको टीकापुरमा एक जनाको ज्यान गएको छ। टीकापुर नगरपालिका ८ कालिमाटीका करवीरे ढोलीको ज्यान गएको हो। सुदूरपश्चिममा अझै कम्तिमा २५ जना बेपत्ता छन्।

देशभर बाढी पहिरोका कारण मृत्यु हुनेको संख्या ९० पुगिसकेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?