१७ हजार शिक्षकको नयाँ पदपूर्ति गर्ने तयारी, शैक्षिक योग्यता पुरानै, अनुमतिपत्र नखुल्ने

दार्चुला । शिक्षक सेवा आयोगले १७ हजारभन्दा बढी शिक्षकको नयाँ पदपूर्ति प्रक्रिया छिट्टै अगाडि बढाउने भएको छ। देशभरका सार्वजनिक विद्यालयमा रिक्त रहेका शिक्षकको दरबन्दी प्राप्त भएपछि आयोगले पदपूर्तिको प्रक्रिया छिट्टै अगाडि बढाउने भएको हो । आयोगका अध्यक्ष मधुप्रसाद रेग्मीले आफूहरू नयाँ पदपूर्ति प्रक्रियाकै तयारीमा रहेकाले नयाँ विज्ञापन तत्काल खोलिने जानकारी दिनुभयो । उहाँका अनुसार, शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट नयाँ पदपूर्तिका लागि सङ्ख्या प्राप्त भएपछि तयारीको काम भइरहेको छ ।

नयाँ पदपूर्ति प्रक्रियाअन्तर्गत प्राथमिक तहमा सबैभन्दा बढी पदमा नयाँ पदपूर्ति गरिनेछ । जसअनुसार १२ हजार प्राविमा पदपूर्ति गरिनेछ । त्यसैगरी, निम्न माध्यमिक तहमा तीन हजार र माध्यमिक तहमा दुई हजार शिक्षकको पदपूर्ति गरिनेछ। विद्यालय तहलाई आधारभूत र माध्यमिक तह भनेर परिभाषित गरिए पनि शिक्षकको नयाँ पदपूर्ति भने पुरानै संरचना प्रावि, निमावि र माविअनुसार नै हुनेछ । प्रावि तहको पदपूर्ति जिल्लागत तथा निमावि र माविको पदपूर्ति प्रदेशगत आधारमा गरिने छ । २०७४/०७५ पछि सार्वजनिक विद्यालयको रिक्त शिक्षक पदमा पदपूर्ति हुन लागेको हो ।

धेरै वर्षसम्म नयाँ शिक्षकको पदपूर्ति हुन नसकेको र धेरैको चासोको विषयसमेत भएकाले आफूहरू पदपूर्तिको प्रक्रिया तत्काल अघि बढाउनुपर्छ भन्ने पक्षमा रहेको आयोगका अध्यक्ष रेग्मीले बताउनुभएको समाचार गोरखापत्र दैनिकमा छापिएको छ । हाल आयोगले पदपूर्तिका लागि आन्तरिक तयारीको काम गरिरहेको छ । रिक्त पद सङ्ख्या यकिन गर्ने, पदपूर्तिका लागि प्रतिशत निर्धारण गर्नेलगायतका काम भइरहेको छ । साथै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसितको समन्वयको कामसमेत भइरहेको जानकारी अध्यक्ष रेग्मीले दिनुभयो ।

शैक्षिक योग्यता पुरानै
आयोगका सूचना अधिकारी सुदर्शन मरहट्ठाले शिक्षकको नयाँ पदपूर्ति पुरानै शिक्षा ऐन, नियमावली र आयोगको नियमावलीमा आधारित भएर हुने भएकाले शैक्षिक योग्यता नयाँ कायम हुन नसकेको बताउनुभयो । उहाँले सोअनुसार प्रावि, निमावि र माविमा क्रमशः एसईई, प्रमाणपत्र तह र स्नातक तहको उपाधि भएको व्यक्तिले आवेदन दिन सक्नेछ । आधारभूत र माध्यमिक तह भनेर विज्ञापन हुने अवस्था नभएका कारण यस पटक पुरानै शैक्षिक योग्यताअनुसार हुने जानकारी दिनुभयो ।

माध्यमिक तहमा पदपूर्ति भएको शिक्षकले कक्षा ११ र १२ मा समेत अध्यापन गर्नुपर्ने भएकाले स्नातकोत्तर तहको शैक्षिक योग्यता कायम गर्नुपर्ने सुझाव सम्बद्ध क्षेत्रबाट दिइएको थियो ।

सुरुमा बढुवा गर्न दबाब
आयोगका सूचना अधिकारी महरट्ठाले सुरुमा शिक्षकको बढुवाको काम गरेर मात्र नयाँ शिक्षकको पदपूर्ति गर्न आयोगलाई सुझाव आएको छ । शिक्षकको धेरै वर्ष बढुवा नभएका कारण आयोगलाई शिक्षकहरूले समेत दबाब दिएको जनाइएको छ ।

आयोगले पछिल्लो समय २०७५ साल जेठमा शिक्षकको बढुवाको काम अघि बढाएको थियो । त्यसयता बढुवा प्रक्रिया अघि बढ्न सकेको छैन । अर्कोतर्फ नयाँ शैक्षिक योग्यता भएर रोजगारीको खोजीमा भएका युवाले आफूहरूको सेवा प्रवेश गर्ने उमेर जान लागेको भन्दै दिनहुँ आयोगमा नयाँ शिक्षकको पदपूर्तिको बारेमा सोधखोज गर्ने गरेको जनाइएको छ ।

अनुमतिपत्र नखुल्ने

आयोगले तत्काल नयाँ शिक्षण अध्यापन अनुममित पत्र (शिक्षक लाइसेन्स) को परीक्षा नलिने भएको छ । नयाँ अध्यापन अनुमति पत्रको परीक्षा लिँदा शिक्षकको नयाँ पदपूर्ति प्रक्रियामा विलम्ब हुने भएकाले तत्काल अध्यापन अनुमति पत्रको परीक्षा नलिइने र पदपूर्तिकै प्रक्रिया सुरु गरिने तयारी गरिएको हो ।

अध्यापन अनुमति पत्रको परीक्षामा लाखौँ विद्यार्थी सहभागी हुने र त्यसको नतिजा प्रकाशन गर्न पनि आठ/नौ महिना लाग्ने भएकाले नयाँ पदपूर्ति नै गर्ने योजनामा आफूहरू रहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?