दार्चुला । बैतडीमा डुंगा पल्टिँदा बेपत्ता भएका मध्ये एकजनाको शव फेला परेको छ भने एक जना अझै बेपत्ता रहेका छन् । शिवनाथ गाउँपालिका १ खाँडघाटमा बुधबार साँझ १० जना सवार डुंगा पल्टिएको थियो । मृत्यु हुने र बेपत्ता हुने एकैघरका दीदीभाई रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
चक्रसिंह साउँदकी अन्दाजी १३ बर्षीया छोरीको शव फेला परेको र ८ बर्षीय छोरा बेपत्ता रहेका उहाँले बताउनुभयो । नदीको उर्लदो भेलमा बेपत्ता भएका बालक जीवित फेला पर्ने सम्भावना नरहेको बताइएको छ । चक्रसिंह साउँदको परिवार लामो समयदेखि भारतको पञ्जाबमा बस्दै आएको र दशैमा पूजाआजाका लागि शिवनाथ आएको बताइएको छ । गाउँपालिकाले कोभीडका कारण बन्दाबन्दी गरिएको बेलादेखि घाट बन्द गरेपनि स्थानीयहरुले सजिलोका लागि डुंगा सञ्चालन गर्दै आएका थिए । साँझको समयमा साउँद परिवारले जसरी पनि पारी जानुपर्ने काम छ भनेपछि डुंगा चलाइएको बताइएको छ ।
बुधबार साँझ १० जना सवार डुंगा महाकालीमा पल्टिएको र ती मध्ये ८ जना सकुशल रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दर्शन खड्काले बताउनुभयो । उहाँका अनुसार बेपत्ताको खोजी कार्यका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया