बजार अनुगमन नहुँदा उपभोक्ता ठगीमा, महङ्गी बढ्यो

दार्चुला । चाडपर्वमा हुनसक्ने कालोबजारी, मिसावट, ठगी नियन्त्रणका लागि गरिने बजार अनुगमन दार्चुला र बैतडीमा हुनसकेको छैन। बजार अनुगमन नहुँदा तिहारका बेला बजारका अधिकांश सामानमा उपभोक्ता ठगिएका छन्। बजारमा म्याद नाघेका, लेबल नभएका, बिग्रेका, सडेगलेका सामान खुलेआम बिक्री गरेर उपभोक्ता ठगी भइरहेका छन्। तिहारमा सामान बढी खपत हुने हुँदा कमसल, म्याद नाघेका सामान पनि बढी बिक्री हुने गरेका छन्।

पछिल्लो समय बजारमा दैनिक उपभोग्य वस्तुको मूल्यसमेत बढ्न थालेको छ। लागत मूल्य नै महँगो भएर आएकाले मूल्य बढ्न गएको व्यवसायीको भनाइ छ। जिल्ला प्रशासनको नेतृत्वमा संयुक्त बजार अनुगमन समितिले यसअघि दसैँमा अनुगमन गरे पनि तिहारमा भने गर्न नसकेको हो। कालोबजारी नियन्त्रण गर्ने, म्याद गुज्रेका सामग्री बिक्री वितरणमा रोक लगाउन र उपभोक्ता अधिकारका विषयमा जानकारी दिने उद्देश्यले अनुगमन गर्ने गरिन्छ। यसअघि नियमित रूपमा बजार अनुगमन हुने भनिए पनि तिहारमा बजार अनुगमन हुन नसकेको हो। उपभोक्ताको खाद्य अधिकारलाई सुनिश्चित गर्न र कालोबजारी रोक्न नियमितरूपमा बजार अनुगमन गर्नुपर्ने नागरिक समाज बैतडीका सचिव कर्ण दयालले बताउनुभयो । बजार अनुगमन पनि प्रभावकारीरूपमा सञ्चालन गर्नुपर्ने उहाँको भनाइ छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बैतडीका प्रमुख कृष्णदत्त लेखकले बजार अनुगमन कार्यले व्यापारी र उपभोक्ता दुवै सचेत गराउन मद्दत पुग्ने गरेको बताउनुभयो। व्यापारीलाई म्याद गुज्रेका सामग्री बिक्री नगर्न आग्रह गरिएको छ भने उपभोग्य मिति र लेबल हेरेर मात्र खरिद गर्न उपभोक्तालाई आग्रह गरिएको छ। यसअघि गत असोजमा दसैँ लक्षित र भदौँमा गरिएको बजार अनुगमनका क्रममा दुई लाख ५० हजार मूल्य बराबरका अखाद्य तथा म्याद गुज्रेका वस्तु बरामद गरिएको थियो।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?