दार्चुला । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा नयाँ नेतृत्व चयन भएको छ । सोमबार भएको काँग्रेस डडेल्धुराको सातौं जिल्ला अधिबेशनबाट ७३४ मत ल्याएर भीमबहादुर साउद सभापतिमा निर्वाचित भएका हुन् ।
परशुराम नगरपालिकाका मेयरसमेत रहेका साउदको पुरै प्यानल नै विजयी भएको छ। साउदले सभापतिका अर्का प्रत्यासी चूडामणि ठकुराठीलाई ६५८ मतले पराजित गरेका हुन् । यस्तै सचिवमा हेमराज चटौत र शेरबहादुर भण्डारी विजयी भएका छन् । उपसभापतिमा लक्ष्मीप्रशाद अवस्थी र डिल्लीराज जोशी, सहसचिवमा प्रेमराज महर र गोविन्दराज बोहरा निर्विरोध निर्वाचित भइसकेका छन् ।
निवर्तमान सभापति कर्ण मल्ल समूहले भने क्रियाशील सदस्यतामा धाँधली भएको भन्दै अधिवेशन प्रक्रिया बहिस्कार गरेको थियो । डडेल्धुरामा पुनस्निर्वाचन हुनुपर्ने माग राखेर मल्ल समूह पार्टी केन्द्रीय कार्यालय सानेपामा रिले अनसनमा छ । सोमबार मल्ल पक्षले जिल्ला अधिवेशन रोक्न केन्द्रीय निर्वाचन समितिमा उजुरीसमेत दिएको छ ।
यसैबिच प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पार्टीको १४ औँ महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिमा चयन हुनुभएको छ । महाधिवेशन प्रतिनिधिको निर्वाचनका लागि तयार पारिएको मतपत्रमा सभापति देउवाको नाममा रेजा लगाइएको थियो । देउवा शतप्रतिशत मतसहित महाधिवेशन प्रतिनिधि चयन भएको निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बमले बताउनुभयो ।
काँग्रेस विधानको धारा १५ को उपधारा १ (ग) मा केन्द्रीय समितिका पदाधिकारी र सदस्यहरु स्वतः एक अवधिका लागि महाधिवेशन प्रतिनिधि हुने उल्लेख छ । तर देउवालाई विगतमा पनि डडेल्धुराबाट यसरी नै महाधिवेशन प्रतिनिधिमा ल्याउने गरिएको छ ।
त्यस्तै देउवाकी पत्नीसमेत रहेकी काँग्रेस नेतृ आरजु राणा सर्वसम्मत रूपमै महाधिवेशन प्रतिनिधिमा चयन भएकी छन् । देउवा, सरस्वती खड्का, कौशिल्ला कुमारी भट्ट र कलावती बोहरा पनि सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन भएका छन्।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया