दार्चुला । दार्चुलाको नौगाड गाउँपालिकामा नेपाल राष्ट्रिय शिक्षक संगठन नौगाड समितिले एक दिने बृहत अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । शिक्षक संगठनका नेताहरुका साथै नेकपा एमाले दार्चुलाका नेताहरुको सहभागितामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको नेपाल राष्ट्रिय शिक्षक संगठन मार्मा गाउँपालिका समिति अध्यक्ष बिरेन्द्र महराले जानकारी दिनुभयो । कार्यक्रमका सबैजसो बक्ताहरुले विकास गर्ने पार्टी एमाले मात्रै भएको बताएका छन् । लोकप्रिय योजना र कार्यक्रम सञ्चालन गरेर जनताको मन जितेकै कारण विपक्षीहरु आत्तिएको र एमालेलाई चौतर्फी प्रहार भइरहेको नेताहरुको भनाई छ ।
एमाले सरकारले विद्यालय कर्मचारी र बालविकास शिक्षकको न्यूनतम पारिश्रमिक मासिक १५ हजार पुर्याउने नीति लिएकोमा नौगाडले मात्रै कार्यान्वयन गरेको र अन्य स्थानीय तहले कार्यान्वयन नगरेको भन्दै शिक्षक संगठनले सबै पालिकालाई १५ हजार मासिक भुक्तानी गर्न अनुरोध गरेको छ । न्यूनतम पारिश्रमिक १५ हजार पुर्याउनुका साथै शिक्षकहरुको हकहितमा काम गरेको भन्दै नौगाड गाउँपालिकालाई धन्यबाद व्यक्त गरिएको शिक्षक संगठनका मार्मा गाउँपालिका समिति अध्यक्ष बिरेन्द्र महराले बताउनुभयो ।
अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमाले दार्चुलाका सचिव ज्ञानेन्द्र घर्तीले केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको लोकप्रिय कार्यक्रमबाट वर्तमान परमादेशबाट निर्मित गठबन्धनको सरकार आत्तिएको बताउनुभयो । एमाले सरकारले ल्याएका लोकप्रिय सयौं योजनाहरु वर्तमान सरकारले कटौती गरेको सचिव घर्तीले बताउनुभयो । दार्चुलाको विकासमा एमालेले मात्रै अगुवाई गरेको भन्दै एमालेले गरेका राम्रा कामहरुको अरुले जस लिने दुस्साहस नगर्न नेता घर्तीले चेतावनी दिनुभयो । उहाँले भन्नुभयो, खलंगा खार देथला सडक, बिटुले पारिबगर खण्डेश्वरी सडक, दार्चुला तिंकर सडक, गोकुलेश्वर विमानस्थल, विद्युतीकरण, खानेपानी, सञ्चार लगायत पुर्वाधारको विकास गर्ने पार्टी एमाले नै रहेको उहाँको भनाई छ ।
नौगाड गाउँपालिका अध्यक्ष प्रेमसिह धामीले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेताहरु नेपाली कांग्रेशको पुच्छर बनेको टिप्पणी गर्नुभयो । जनताको पक्षमा काम गर्न एमालेकै सरकार आउनुपर्ने उहाँको भनाई छ । नेकपा एमाले दार्चुलाका प्रचारप्रसार विभाग प्रमुख खडक बडालले माओबादीका नेताहरुप्रति लक्षित गर्दै विगतमा एमालेका कारण सत्ता र सरकारमा पुगेकाहरु अहिले आत्तिएर एमाले नेता कार्यकर्ताहरुलाई नै गाली गलौच गरिरहेको बताउनुभयो । नेकपा एमाले जिल्ला कमिटी सदस्य एबं अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य खेमराज जोशीले आफ्नो ठाउँमा सिन्को भाच्न नसक्नेहरु नौगाडको विकास देखेर आत्तिएको टिप्पणी गर्नुभयो । विकासको सवालमा नौगाड गाउँपालिकाबाट जिल्लाका अरु स्थानीय तहहरुले समेत सिको गर्नुपर्ने उहाँको भनाई छ ।

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया