दार्चुला । विद्यालयमा माघ १६ देखि २० गतेसम्म खोप अभियान चलाइने भएको छ । गृहमन्त्री बालकृष्ण खाँडसहित स्वास्थ्य मन्त्रालय, शिक्षा मन्त्रालय तथा सुरक्षा निकायका पदाधिकारीको बैठकले माघ १६ गतेदेखि २० गतेसम्म खोप लगाउन विद्यालय खुला गर्ने र खोप अभियान चलाउने निर्णय गरेको गृहमन्त्रालयको विपद् व्यवस्थापन महाशाखाका प्रमुख प्रदीप कोइरालाले जानकारी दिनुभयो ।
गृह मन्त्रालयमा बसेको बैठकले कोरोना सङ्कट व्यवस्थापन समन्वय केन्द्र ९सीसीएमसीसी० ले गरेको सिफारिसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने निर्णय गरेको हो । सीसीएमसीसीले यही माघ ७ गतेदेखि सार्वजनिक ठाउँमा खोप कार्ड अनिवार्य बोक्नु पर्ने निर्णय गरेको छ । बैठकमा लक्षित वर्गलाई कोभिड–१९ विरुद्धको बुस्टर डोज कसरी पुर्याउने विषयमा पनि छलफल भएको छ । त्यस्तै विश्वविद्यालयस्तरमा चलिरहेका र मिति निश्चित भएका परीक्षा स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर सञ्चालन गर्ने निर्णय पनि बैठकले गरेको छ ।
कोभिड सङ्क्रमण भएका विद्यार्थीलाई छुट्टै व्यवस्था गरेर परीक्षा दिन पाउने व्यवस्था गर्न निर्देशन दिने निर्णय पनि बैठकले गरेको छ । त्यो सर्कुलर भने सम्बन्धित मन्त्रालयले विश्वविद्यालयहरूमा गर्ने कोइरालाले जानकारी दिनुभयो। त्यस्तै बैठकले जहाजमा यात्रा गर्नेहरूलाई टिकट काट्दा नै खोप कार्ड अनिवार्य देखाउनु पर्ने व्यवस्था गर्न भनेको छ ।
अनलाइन टिकट काट्नेले पनि खोप लगाएको कार्ड अनिवार्य अट्याच गर्ने व्यवस्था मिलाउनुपर्नेछ । बैठकले राष्ट्रिय परिचयपत्र र ई–पासपोर्ट बनाउन अत्यावश्यक काम परेकालाई बाहेक तत्कालका लागि स्थगन गर्न सम्बन्धित निकायलाई भन्ने निर्णय गरेको छ । विदेशबाट नेपाल भित्रने नाकामा एन्टिजेन परीक्षण गर्ने र खोप नलगाएकालाई खोप लगाउने व्यवस्था गर्ने निर्णय पनि बैठकले गरेको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया