दार्चुला । नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश समितिको अध्यक्षमा हरिराम चौधरी ‘उत्सव’ (कैलाली) विजयी हुनुभएको छ । सुदूरपश्चिम सरकारका पर्यटन मन्त्रीसमेत रहनुभएका दार्चुलाका मानबहादुर धामी (सन्तोष) लाई पराजित गर्दै चौधरी विजयी हुनुभएको हो ।
प्रदेश सम्मेलन उद्घाटन भएको झण्डै ३ महिनापछि सोमबार निर्वाचन प्रणालीमार्फत माओवादी सुदूरपश्चिमले अध्यक्ष पाएको हो। प्रदेश निर्वाचन समितिका अनुसार खसेका २१० मतमध्ये चौधरी ११४ मत पाउदै विजयी हुनुभयो भने धामीले ९३ मत पाउनुभयो । यस्तै अन्य ८ जना पदाधिकारी पनि टुंगो लगाएको छ।
प्रदेश समितिको उपाध्यक्षमा अक्कल रावल (अछाम), मानसिंह माल (डडेल्धुरा) र रणबहादुर कुँवर (बैतडी) विजयी हुनुभएको छ । सचिवमा जनक बुढा (बझाङ), सह सचिवमा नन्दबहादुर साउद राजेन्द्र (कैलाली), रामबहादुर देवकर (कंचनपुर) र अन्जिता श्रेष्ठ (डोटी) तथा कोषाध्यक्षमा कमल कुमारी शाह (बाजुरा) विजयी हुनुभएको छ ।
निर्वाचन अधिकृत केदारचन्द्र भट्टका अनुसार गत मंसिरमा अध्यक्ष पदका आकांक्षीहरू धेरै देखिएको र सहमति हुन नसक्दा प्रदेश सम्मेलनले २२३ जना सदस्य मात्रै छनोट गरेको थियो। सोमबार निर्वाचनमार्फत पदाधिकारी टुंगो लगाइएको हो।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया