दार्चुला । कैलालीमा पेट्रोलियम पदार्थ व्यवसायीले पेट्रोल पम्पमा ताला लगाएर इन्धनको कृत्रिम अभाव सिर्जना गरेका छन् ।
व्यवसायीले नेपाल आयल निगमको धनगढी डिपोबाट शुक्रबारपछि इन्धन उठाएका छैनन् । शुक्रबार उठाएको इन्धन पनि उनीहरुले बिक्री गरेका छैनन् । पेट्रोल पप्पहरुले शनिबार साँझदेखि नै इन्धन नभएको भन्दै उपभोक्तालाई फर्काएका छन् ।
पेट्रोलियम ढुवानी व्यवसायी संघका अध्यक्ष मनिराम पाण्डेले डिलरहरुले आयल निगमबाट पेट्रोलियम पदार्थ नउठाउँदा समस्या भएको बताउनुभयो ।
‘भारतमा १५ र १ तारेखमा मूल्य घट्न सक्ने भन्दै डिलरहरुले पेट्रोलियम पदार्थ उठाउन नमान्दा अहिले बजारमा आपूर्ति हुन नसकेको हो’, पाण्डेले भन्नुभयो, ‘यो विषयमा हामी छलफल गरिरहेका छौँ । प्रमुख जिल्ला अधिकारीसँग कुराकानी गर्न जादैछौँ ।’
नेपाल आयल निगम धनगढीका प्रादेशिक प्रमुख मोहनकुमार शाहले शुक्रबारसम्म प्रदेशका सबै जिल्लाका डिलरलाई पेट्रोलियम पदार्थ वितरण गरिएको बताउनुभयो । आइतबार भने निगमको प्रणालीमा समस्या आएकाले वितरण हुन नसकेको बताउनुभयो ।
मंगलबार भने दुई लाख ४० हजार लिटर पेट्रोल र दुई लाख ८४ हजार लिटर डिजल बजारमा पठाउने तयारी भइरहेको शाहले बताउनुभयो ।
भारतमा इन्धनको मूल्य घट्ने व्यवसायीहरुको प्रक्षेपणका कारण पनि कतिपयले व्यवसायीले पेट्रोलिय पदार्थको माग नगरेको हुनसक्ने उहाको भनाइ छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया