दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ५ ले खेलाडी हेमन्त पाललाई एक लाख र हिमानी बोहरा लाई ५० हजार पुरुस्कार दिने भएको छ ।
पुख्यौली घर दार्चुलाको मालिकार्जुन गाउँपालिका–५ डाडाकोट भएका हेमन्त पालले एसियाली जुनियर भारोत्तोलन च्याम्पियनसिपमा तीन वटा कांस्य पदक जित्नुभएको छ । डेब्यु अन्तर्राष्ट्रिय प्रतियोगितामै १७ वर्षीय हेमन्तले पुरुष ७३ केजी तौलसमूहमा तीन कांस्य जितेपछि प्रोत्साहनस्वरूप वडाले एक लाख पुरस्कार दिन लागेको मालिकार्जुन गाउँपालिका वडा नम्बर ५ का वडाअध्यक्ष मदन बहादुर चन्दले बिहीबार दार्चुलामा पत्रकार सम्मेलन गर्दै जानकारी दिनुभयो । हाल भीमदत्त नगरपालिका–६ बस्दै आएपनि उनले दार्चुलाको शान अन्तर्राष्ट्रियस्तरमा चिनाउन सफल भएका छन् । हेमन्तले स्न्याच, क्लिन एन्ड जर्क र कुलमा गरी तीन कांस्य पदक जितेको टिम व्यवस्थापक रामसुन्दर श्रेष्ठले जानकारी दिनुभयो। भारतको नोयडामा भएको प्रतियोगितामा हेमन्तले स्न्याचमा ९७ केजी, क्लिन एन्ड जर्कमा ११० केजी गरी जम्मा २०७ केजी भार बहन गर्नुभएको थियो ।
हेमन्तको प्रतिस्पर्धामा पाँच राष्ट्रका ६ खेलाडी सहभागी थिए । उज्वेकिस्तानका दुई खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।थाइल्यान्डले स्वर्ण तथा उज्वेकिस्तानले रजत जिते । पत्रकार सम्मेलन गर्दै वडाअध्यक्ष चन्दले भन्नुभयो, ‘आफु पनि खेल क्षेत्रबाटै आएको हुँदा खेलाडीको मनोबल बढाउन पनि पुरुस्कार आवश्यक हुन्छ ।’ झन आफ्नै वडाका खेलाडीले नेपालकै लागि पदक ल्याउँदा वडाबासी खुसी छन् ।
उनलाई वडा कार्यालयले विशेष कार्यक्रमको आयोजना गरि दशैअगावै पुरुस्कार रकम हस्तान्तरण गर्ने उहाँले बताउनुभयो । यस्तै वडा कार्यालयले १३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा राष्ट्रिय स्तरमा द्धितीय स्थान हासिल गर्न सफल मालिकार्जुन ५ कै हिमानी बोहरालाई ५० हजार रुपैयाँ पुरुस्कार प्रदान गर्ने घोषणा गर्नुभयो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया