दार्चुला । सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुरका राना थारु समुदायमा तिज पर्व मनाइँदै छ । दुवै जिल्लामा बसोबास गर्ने राना थारु समुदायले आज तिज पर्व मनाउन लागेका हुन् ।
तिज यो समुदायको ठुलो पर्व मानिने भएकोले धूमधामसँग मनाउने गरिएको छ । आज महिला दिदीबहिनीहरू दिनभरि निराहार व्रत बसेर तिज पर्व मनाउने राना थारु समुदायका बुद्धिजीवी डा. जीवन रानाले बताउनुभयो ।
राना थारु समुदायको तिज अरू समुदायको तिजभन्दा फरक रहेको छ ।
तीज पर्व राना थारु समुदायका महिलाको महत्वपूर्ण पर्वका रुपमा रहेको छ । दिदीबहिनी र दाजुभाइ भतिजाको आत्मीयता बढाउने महत्वपूर्ण पर्वका रुपमा यसलाई लिइने गरिन्छ । परम्परागतकालमा राना समुदायमा बिरामी फैलिएपछि घरका कमाउने व्यक्तिको मृत्यु भई गरिबी बढेपछि दिदीबहिनीले भगवान् श्रीकृष्णको पूजाअर्चना गरेपश्चात् समाजबाट दुःख, पीडा र गरिबी हटेकाले त्यसै दिनदेखि यो पर्व मनाउँदै आएको किम्वतन्ती रहेको छ ।
सांस्कृतिक सामाजिक र भ्रातृत्व प्रेमले ओतप्रोत तीज पर्वमा दिदीबहिनीले दाजुभाइ भतिजाको लामो आयुको कामना गर्दै पानीसमेत नखाई व्रत बस्ने गर्दछन् । दाजु भाइले तीजपर्व आउन १५ दिनअगावै दिदीबहिनीको घरमा गएर निम्ता दिई बोलाएर ल्याउनुपर्ने चलन रहेको छ । तीज पर्वको आगमनसँगै सार्वजनिक स्थान, बगैँचा र सामूहिकरुपमा भेला हुने ठाउमा दाजुभाइले दिदीबहिनीका लागि डोला ९पिङ० राख्ने चलन रहेको छ ।
उनका अनुसार परम्परागत आभूषण र पहिरनमा सजिएका महिलाले डोलामा चढेर ठूलो स्वरमा सावनका माङ्गलिक गीत गाउने गर्दछन् । महिलाको एक टोलीले गीत गाउँदै डोला मच्चाउने गर्दछन् । डोलामा चढेकाले स्वरमा स्वर मिलाउँदै सावनका गीतहरू गाउने गर्दछन् । महिलालाई उत्साह थप्नका लागि पुरुषले ठूलो स्वरमा गीत गाउने गर्दछन् । यसबाट दिदीबहिनी र दाजुभाइ भतिजाबीच आत्मीयता बढ्ने भएकाले यसलाई बढी महत्व दिइने गरिएको छ ।
दिदीबहिनीले पानीसमेत नपिएर निरहार बसी दाजुभाइ भतिजाको दीर्घायुको कामना गरी तीज पर्व मनाउने गरेका छन । निरहार बसेका दिदी बहिनीले प्रसादका रुपमा परम्परागत पकवान सिमही, पपरा, पुरी, गुलगुला बनाउने गर्दछन् । गडरौँदा जातको घाँसमा विवाहिताले सात गाँठा र अविवाहितले पाँच गाँठा पारी चाँदीको गहनाले काटेर नदीको बीच भागमा पुगेर बत्ति संगै बिर्षजन गर्ने चलन रहेको राना थारु संस्कृतिका जानकार नवलसिंह रानाले बताउनुभयो । बिर्सजन गर्ने बेला दिदीबहिनीले दाजुभाइलाई धन सम्पत्ति, उन्नति र नदीको धारजस्तै दाजुभाइको आयु बढोस् भनी वरदान माग्ने गर्दछन् ।
बिर्सजन गर्न जाने बेला गाँउका युवाले दिदी बहिनीलाई बाटोमा लामो डोरीमा बेरेर घेर्ने प्रयत्न गरी हस्यौली ठट्र्यौली र मनोरञ्जन लिने गर्दछन् । जसलाई राना थारु भाषामा झुडकी छिराउने भन्ने गरिन्छ । तीजमा माइतीलाई भेट्न नपाएका दिदीबहिनी यसै अवसरको सदुपयोग गर्दै भेटघाट गर्न आउने भएकाले यसले वर्षभरिको सुख दुःख साटासाट गर्ने अवसरका रुपमा लिने गर्दछन ।
तीजका अवसरमा घरघरमा बनाइएका परम्परागत पकवान सिमही, पपरा, पुरी, गुलगुला बनाई आफन्तलाई बाँड्दै घरका सबैले सँगै बसेर खाने चलन यस समुदायमा रहेको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया