दार्चुला । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पार्टीको सुदूरपश्चिम प्रदेशको पहिलो अधिवेशन उद्घाटन गरेर काठमाण्डौँ फर्किनभएको छ । अधिवेशनबारे थप निर्णय लिने अधिकार महासचिव शंकर पोख्रेललाई जिम्मा लगाउँदै ओली फर्किनुभएको हो । अध्यक्ष ओलीले सर्वसम्मत नेतृत्व चयन गर्न नेताहरूलाई सुझाव दिनुभएको छ । महासचिव पोखरेलले सहमतिको लागि पोलिटव्युरो सदस्य तथा जिल्ला इन्चार्जहरुसँगको सुझावपछि जिल्ला अध्यक्षसँग पनि छलफल गर्ने तयारी रहेको बताइएको छ ।
अहिलेसम्म सुदूरपश्चिममा अध्यक्षमा तीन जनाले दाबी गरेका छन् । अछामका कृष्णप्रसाद जैशी र कमल तिमिल्सिना तथा कञ्चनपुरका बचनबहादुर सिंह अध्यक्षको दौडमा छन् । भोलिदेखि सुरु हुने बन्द सत्रबाट एमाले सुदूरपश्चिमको नेतृत्व चयन हुनेछ ।
मानसरोवरमा डुबुल्की गर्दैमा पाप कट्दैनः ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई जनताप्रति उत्तरदायी नभएको टिप्पणी गर्नुभएको छ । सुदूरपश्चिम प्रदेश अधिवेशनको उद्घाटन समारोहमा पूर्वप्रधानमन्त्री समेत रहनुभएका ओलीले देश र जनतालाई आशा जगाउने बेलामा प्रधानमन्त्री भ्रमणमा केन्द्रित भएको बताउनुभयो ।
अहिले देशमा सरकार छ कि छैन ? के दुई धाम गरेरमात्रै हुन्छ ?’, उहाँले भन्नुभयो, ‘जनतालाई माया नगरेपछि, देशलाई माया नगरेपछि चन्दन लगाएर गेरुवस्त्र लगाए पनि पाप कट्दैन, मानसरोवरमा डुबुल्की लगाए पनि पाप कट्दैन ।’ उहाले वर्तमान सरकारबाट देशको रक्षा हुनसक्ने अवस्था नरहेको धारणा राख्नुभयो । एमाले नेतृत्वको सरकार हटेपछि अर्थतन्त्र ओरालो लागेको ओलीको भनाई छ । ७ प्रतिशतभन्दा माथि पु¥याइएको अर्थतन्त्र यो गठबन्धनले २ प्रतिशतभन्दा तल झारिसकेको छ’, उहाँले भन्नुभयो, ‘देश अप्ठेरो अवस्थामा पुगेको छ । अझै अप्ठेरो गतिमा पु¥याउनु हुँदैन । सुदूरपश्चिम प्रदेश विकासका दृष्टिकोणले पछाडि परेको भन्दै ओलीले प्रदेशलाई एमालेले आधुनिक, विकसित र समृद्ध बनाउन चाहेको बताउनुभयो । प्रदेश अधिवेशनमार्फत आउने नयाँ नेतृत्वले सुदूरपश्चिम प्रदेशमा रहेका समस्याहरू हल गर्न सक्नु पर्ने ओलीको भनाइ छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
वर्तमान सरकार जनताप्रति उत्तरदायी छैनः महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोख्रेलले वर्तमान सरकार जनताप्रति उत्तरदायी नभएको टिप्पणी गर्नुभयो । सुदूरपश्चिम प्रदेश अधिवेशनको उद्घाटन गर्दै उहाँले इजरायलमा भइरहेको हमलामा परेर मृत्यु र घाइते भएकाहरूका विषयमा पनि सरकारले चासो नदिएको पोखरेलको भनाई छ । दूतावासमा मात्रै सम्पर्क गरेको भन्ने सरकारको जिम्मेवारी यत्ति हो’, उहाँले भन्नुभयो, ‘यो सरकार जनता प्रति, नागरिक प्रति जिम्मेवारी छैन भन्ने कुरा यहि घटनाले पुष्टि गर्छ ।’
जनताको विकास र समृद्धिको आधार तय गरिरहेको बेला आफ्नै पार्टीको सरकारलाई एक्लाउन लागेकाहरूलाई जनताले राष्ट्रिय पार्टी समेत नबनाएको बताउनुभयो। महासचिव पाखरेलले एमाले पहिलो पार्टी मात्रै भएर नहुने भन्दै अब एकल बहुमतको सरकार बनाउन सक्ने गरी अगाडी बढ्नु पर्नेमा जोड दिनुभयो ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
नेता कार्यकर्ताहरूले चिल प्रवृत्ति अपनाउनु पर्छः सचिव भट्ट
नेकपा एमालेका सचिव तथा कर्णाली प्रदेशका इन्चार्ज लेखराज भट्टले पार्टी नेता कार्यकर्ताहरूलाई चिल प्रवृत्ति अपनाउनु पर्ने बताउनुभयो । नेकपा एमालेका सुदूरपश्चिम प्रदेश अधिवेशनमा उहाँले माथिल्लो तहबाट नियाल्ने गरी चिल प्रवृत्ति अपनाउन नेता कार्यकर्ताहरूलाई सुझाव दिनुभयो ।
‘हाम्रो अध्यक्ष केपी शर्मा ओलीमा चिल प्रवृत्ति छ उहाँले माथिल्लो तहबाट सबै नियालिरहनु भएको छ । यहाँ सबै नेता कार्यकर्ताहरूमा थोरै पनि त्यो गुणलाई समात्ने चिल प्रवृत्ति चाहियो’, उहाँले भन्नुभयो, ‘कुखुरा जस्तो अरूको शिकार हुने प्रवृत्ति चाहिएको होइन ।’ छलफलबाट सुदूरपश्चिमको भविष्य र पार्टीलाई एकताबद्ध बनाउन सक्ने नेतृत्व आवश्यक रहेको भट्टको भनाई छ ।
अबको आन्दोलनको नेतृत्व केपी ओलीले मात्रै गर्न सक्ने बुझाइका साथ केपी ओलीको पक्षमा र एकताको पक्षमा उभिएको उहाँको भनाई छ ।
एमाले कमजोर हुँदा राष्ट्रियता र भौगोलिक एकता कमजोर हुन्छः सचिव विश्वकर्मा
नेकपा एमालेका सचिव तथा सुदूरपश्चिम इन्चार्ज छविलाल विश्वकर्माले एमाले कमजोर हुँदा राष्ट्रियता र भौगोलिक एकता कमजोर हुने गरेको बताउनुभएको छ । राष्ट्रियता र भौगोलिक एकता बलियो बनाउन एमालेलाई बलियो बनाउनु पर्नेमा उहाँले जोड दिनुभयो । ‘एमाले कमजोर हुँदा राष्ट्रियता र भौगोलिक एकता कमजोर भएको छ । समृद्धिको अभियान शिथिल भएको छ’, उहाँले भन्नुभयो, ‘एमालेलाई बलियो बनाएर राष्ट्रिय एकतालाई बलियो बनाउन आवश्यक छ ।
मिसन ग्रासरुटले समस्या पहिचान गरि समाधानका पाटोहरू खोजिएको उहाँले बताउनुभयो । प्रदेश अधिवेशन पछि जिल्ला पालिका हुँदै वडा अधिवेशन सफल बनाउनुपनेृ उहाँको भनाई छ ।
मत बाँडिँदा मनहरू पनि बाँडिन्छनः कर्ण थापा
नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्ण थापाले निर्वाचनमा मत बाँडिँदा मनहरू पनि बाँडिने गरेको धारणा राख्नुभयो । पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउन सर्वसम्मत बनाउनु पर्छ भन्ने थियो धेरै ठाउँमा प्रतिस्पर्धा भयो । मतहरू बढिदा मनहरू पनि बाँडिने रहेछ’ उहाँले भन्नुभयो । सुदूरपश्चिम प्रदेशमा सहज ढंगले सहमति हुने सम्भावना रहेको उहाँको भनाई छ ।
थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीको व्यक्तित्व निर्माण गर्न सुदूरपश्चिमले धेरै महत्त्वपूर्ण भूमिका खेलेको समेत बताउनुभयो । सुदूरपश्चिम प्रदेशमा आजबाट प्रदेश अधिवेशन सुरु भएको छ । उद्घाटन सत्र सकिएर भोलिदेखि बन्द सत्र सुरु हुदैछ ।
https://www.facebook.com/RadioLokdarpan1/videos/834449014997630
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।




