दार्चुला । बैतडीमा गएको भदौ ५ गतेदेखि बेपत्ता रहेका शिक्षक जयबहादुर बोहराको अवस्था अझै अज्ञात रहेको छ । भदौ ५ गते विद्यालय जान हिँडेका जिल्लाको डिलाशैनी गाउँपालिका २ गोगनी घर भएका ५२ वर्षीय शिक्षक जयबहादुर बोहराको अवस्था अझै थाहा हुन सकेको छैन।
शिक्षक बोहरा बेपत्ता भएको अढाई महिना भइसक्दा समेत पत्ता नलागेपछि परिवार चिन्तित भएका छन् ।
लटिनाथ आधारभूत विद्यालय अमरखेतमा कार्यरत शिक्षक बोहरा भदौ ५ गते विद्यालयबाटै बेपत्ता भएका थिए । बेपत्ता शिक्षकको अवस्था अझै अज्ञात रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताउनुभयो ।
प्रहरीले सबै ठाउँमा खोजी गर्दा समेत कहिँकतै फेला नपरेको प्रहरी निरीक्षक खत्रीले बताउनुभयो । शिक्षक बोहराको कल डिटेल्स हेर्दा समेत केही पत्ता लाग्न नसकेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो ‘हामीले बेपत्ता शिक्षकको खोजीका लागि सम्भव भएसम्मका सबै प्रयास गरेका छौं । त्यति गर्दा समेत शिक्षक बोहराको अवस्था अज्ञात नै छ ।’
दिनभरी विद्यालयमा पढाएर साँझदेखि बेपत्ता भएका शिक्षकको अहिले सम्म अवस्था अज्ञात हुँदा आफूहरु निकै चिन्तामा परेको उनका आफन्त कर्ण धामीले बताउनुभयो । आफ्नो आफन्त हराएको अढाई महिना भइसक्दा समेत केही पत्ता नलागेको उहाँले बताउनुभयो ।
बेपत्ता शिक्षक बोहरा हराएको भोलिपल्ट गन्नीगाड नदीको किनारमा उनले लगाएको चप्पल,टोपी, छाता फेला परेको थियो । उनका आफन्तले बोहराले प्रयोग गर्ने मोबाइल समेत नदी किनारमै फेला पारेका थिए ।
चमेलिया नदी किनार र महाकाली नदी किनारमा समेत बेपत्ता शिक्षक बोहराको खोजी गरिएको प्रहरी निरीक्षक खत्रीले बताउनुभयो । उहाँको हुलिया अन्य जिल्ला समेत पठाइएको तर अहिले सम्म कहिँबाट केही जानकारी नआएको प्रहरी निरीक्षक खत्रीले बताउनुभयो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया