दार्चुला । कैलालीको धनगढी उपमहानगरपालिकास्थित स्वस्तिक अस्पतालबाट ल्यापटप चोरी गरेको आरोपमा सशस्त्र प्रहरीका सहायक प्रहरी निरीक्षक (असई) पक्राउ परेका छन्।
पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका वडा नम्बर ३ घर भएका रमेश भण्डारी रहेका छन्।
उनले कात्तिक २६ गते धनगढी उपमहानगरपालिका–३ चटकपुरमा रहेको स्वस्तिक अस्पतालबाट ल्यापटप चोरी गरेको आरोप छ ।
दार्चुलाको ४४ नम्बर गणमा कार्यरत भण्डारीलाई तालिमका लागि पोखरा पठाइएको थियो। तिहारको बिदामा उनी धनगढी पुगेका थिए।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदिप चन्दका अनुसार अस्पतालको सिसिटिभी फुटेजका अनुसार कात्तिक २६ गते राति ११ बजेर ४८ मिनेटको समयमा भण्डारीले ल्यापटप चोरीको गरेको देखिन्छ।
महत्वपूर्ण विवरण राखिएको ल्यापटप चोरी भएपछि अस्पतालले प्रहरी कार्यालयमा उजुरी दिएको थियो।
उक्त सिसिटिभी फुटेजको आधारमा चोरी गर्ने व्यक्ति सशस्त्र प्रहरीका सहायक प्रहरी निरीक्षक भएको खुलेपछि जिल्ला प्रहरी कार्यालयले सशस्त्र प्रहरीलाई पत्र काटेर सहयोग गर्न आग्रह गरेको थियो। सोही अनुसार सशस्त्र प्रहरी बलले नै असई भण्डारीलाई नियन्त्रणमा लिएर बिहीबार जिल्ला प्रहरी कार्यालय कैलालीमा बुझाएको प्रहरी नायब उपरीक्षक चन्दले बताउनुभयो ।
उहाँका अनुसार भण्डारीमाथि चोरी मुद्दा दर्ता भएको छ। सात दिन म्याद थप गरेर भण्डारीमाथि थप अनुसन्धान भइरहेको छ।
यसअघि पनि कात्तिक १ गते मुख्यमन्त्री कार्यालयमा कार्यरत प्रहरी सहायक हवल्दार करण बहादुर चन्द चरेस र चितुवाको छालासहित पक्राउ परेका थिए।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया