दार्चुला । नेकपा एमालेले भोलि बिहीबारदेखि थाल्ने झुलाघाट-चिवाभन्ज्याङ विशेष अभियानको तयारी पूरा भएको छ ।
एमाले सुदूरपश्चिम प्रदेश कमिटिले मंगलबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै बैतडीको झुलाघाटदेखि सुरु हुने विशेष अभियान भनिएको पदयात्राको तयारी पूरा भएको जनाएको हो ।
एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज छविलाल विश्वकर्माले विशेष अभियानको सबै तयारी पूरा भएको जानकारी दिनुभयो । विश्वकर्माले पार्टी अध्यक्ष केपी शर्मा ओली अभियानको उद्घाटनका लागि आज बैतडी आउन लागेको जानकारी दिनुभयो ।
उहाँका अनुसार अध्यक्ष ओलीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, उपाध्यक्ष युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल लगायतका नेताहरू बुधबार आउन लागेको बताइएको छ ।
पार्टीका केन्द्रीय पदाधिकारीसहितका नेताहरु बुधबार धनगढीबाट बैतडीतर्फ प्रस्थान गरेको एमालेले जनाएको छ । बिहीबार ओलीले झन्डा अनावरण गरेर पदयात्राको उद्घाटन गर्ने सचिव विश्वकर्माले बताउनुभयो ।
झुलाघाटमा उद्घाटन गरेपछि बिहीबार नै बैतडी सदरमुकाम गोठलापानीमा आयोजना गरिने विशाल जनसभालाई ओलीले सम्बोधन गर्ने छन् भने बिहीबार खोड्पेमा समेत सन्देश सभा आयोजना गरिएको छ । बैतडीपछि शुक्रबार डडेल्धुरामा सन्देश सभा र डोटीको दिपायलमा जनसभा गर्ने बताइएको छ ।
यस्तै मंसिर १६ गते अछामको साँफेवगरमा सन्देश सभा गर्ने र मङ्गलसेनमा जनसभा सम्बोधन गर्ने कार्यपालिका रहेको छ । १७ गते सुदूरपश्चिम प्रदेश कमिटीले अध्यक्ष सहितको टोलीलाई कर्णाली प्रदेशमा बिदाइ गर्ने कार्यतालिका रहेको एमालेले जनाएको छ ।
१९ दिनमा सङ्कल्प यात्रा अन्त्य गरिनेछ । पुष ५ गते काठमाडौँमा संकल्प यात्राको सन्देश प्रवाह गर्ने बताइएको छ । विशेष अभियानका क्रममा केन्द्रीय नेतासहितको टोलीले सुदूरपश्चिम प्रदेशको तीन सय ५८ किलोमिटर यात्रा गर्नेछन् ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया