दार्चुला । कञ्चनपुरमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । आज आइतबार बिहान पूर्वपश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरमा म १ख९३५ नम्बरको बसले सुदुरपश्चिम प्रदेश ०१–००९ प १२०७ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा बैतडीको सिगास गाउँपालिका–९ गन्सुर घर भएकी ३९ बर्षीया भागरथी अवस्थीको मृत्यु भएको हो ।
केही दिन पहिलामात्रै भतिजीको बिहेमा सहभागी हुन आफ्ना श्रीमान शिवराज अवस्थीसहित भागरथी बैतडीबाट कञ्चनपुर गएकी थिइन् ।
आज बैतडी आउने क्रममा उनका श्रीमान शिवराजले चलाएको मोटरसाइकललाई बसले ठक्कर दिएपछि उनी गम्भीर घाइते भएकी थिइन् । गम्भीर घाइते उनको उपचारको क्रममा धनगढीस्थित मायामेट्रो हस्पिटलमा मृत्यु भएको उनका आफन्तले बताएका छन् । बसले ठक्कर दिएपछि मृतकका श्रीमान शिवराज अवस्थी र १३ बर्षीय छोरा बालकृष्ण अवस्थी घाइते भएका थिए । घाइते बुवाछोरा उपचारपछि डिस्चार्ज भइसकेका छन् ।
मृतक अवस्थीका दुई छोरी र दुई छोरा रहेका छन् ।
घटनापछि बस र बसका चालक ३२ बर्षीय नरेन्द्रसिंह भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरीले जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।




