दार्चुला । मकवानपुरमा मोटरसाइकलको ठक्करबाट एक प्रहरी जवानको मृत्यु भएको छ।
हेटौंडा उपमहानगरपालिका-११ थानाभर्याङस्थित पूर्वपश्चिम सडकखण्डमा ना ४३ प २२२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा डडेल्धुरा आतिलाल गाउँपालिका वडा नम्बर ६ घर भएका २५ वर्षीय प्रहरी जवान विनोद एडीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।
बागमती प्रदेश प्रहरी गण हेटौंडामा कार्यरत उनलाई बुधबार बिहान पौने ७ बजेतिर हेटौंडाबाट नवलपुर जाँदै गरेको मोटरसाइकलले ठक्कर दिएको थियो । घाइते उनलाई उपचारको लागि हेटौंडा अस्पताल लगिएकोमा त्यहाँ चिकित्सकले मृत घोषणा गरेको डिएसपी भण्डारीले बताउनुभयो।
प्रहरी जवान एडी (फिजिकल ट्रेनिङ- व्यायाम) पिटी गर्नेक्रममा दौडिरहेका थिए। त्यसक्रममा थानाभर्याङमा मोटरसाइकल अनियन्त्रित भई प्रहरी जवान एडीलाई ठक्कर दिएको बताइएको छ ।
प्रहरीका अनुसार मोटरसाइकल चालक हेटौंडा-४ हुप्राचौर बस्ने ४१ वर्षीय लक्ष्मण लामा पनि घाइते भएका छन्। उनलाई पनि हेटौंडा अस्पताल लगिएकोमा त्यहाँबाट थप उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर लगिएको छ।
मोटरसाइकलले अन्य दुई जना प्रहरीलाई पनि ठक्कर दिएको थियो। बागमती प्रदेश प्रहरी गण हेटौंडामा कार्यरत प्रहरी जवान नवराज सार्कीको दायाँ हात र प्रहरी जवान विजय खत्रीको बायाँ खुट्टा, हातमा चोट लागेको हो। उनीहरू सामान्य उपचारपछि डिस्चार्ज भइसकेका छन्।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया