दार्चुला । कञ्चनपुरको दोदा (मछेली) नदीमा बाढी पूर्वसूचना यन्त्र (राडार लेभल सेन्सर) जडान गरिएको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको महाकाली बेसिन फिल्ड कार्यालय अत्तरीयाको प्राविधिक सहयोगमा १० लाख रुपैयाँभन्दा बढीको लागतमा यन्त्र जडान गरिएको हो।
जडान गरिएको यन्त्रले स्वचालितरूपमा नदीको पानीको सतह बढे घटेको जानकारी दिने फिल्ड कार्यालय अत्तरियाका प्रमुख सञ्जय शाहले जानकारी दिनुभयो । बाढीबाट बर्सेनी हुने धनजनको क्षति कम गर्न पूर्वसूचना प्रणालीलाई व्यवस्थित गर्ने सुरुआत गरेको उहाँले बताउनुभयो ।
जडान गरिएको यन्त्रले १०/१० सेकेण्डमा नदीमा पानीको सतह घटे बढेको जानकारी दिने छ । उहाँका अनुसार यन्त्रले दिने सूचना तथा मौसम विभागको वेबसाइटमार्फत अपडेट भइरहन्छ। वेबसाइट हेरेर पनि बाढीबारे जानकारी पाउने उहाँको भनाइ छ।
नदीको बाढी सतर्कता, चेतावनी, खतरा तहमा पुगेपछि तल्लो तटीय क्षेत्रका बासिन्दालाई बाढीबारे निरन्तररूपमा जानकारी दिन सजिलो हुने छ ।
समूहगतरूपमा एसएमएस गरेर बाढीबारे प्रभावित क्षेत्रका बासिन्दालाई जानकारी दिन सकिने जनाइएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।




