सुदूरपश्चिमको रातो किताब अनाधिकृत रुपमा बाहिरिएपछि विवाद, कारवाहीको माग

दार्चुला । सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१।८२ को बजेटमाथि छलफल सुरु नहुँदै वार्षिक विकास कार्यक्रम पुस्तिका बाहिरिएको छ ।बजेटको रातो किताब भनिने वार्षिक विकास कार्यक्रम पुस्तिका प्रदेश सभाका सदस्यहरुलाई वितरण गरेर प्रदेशसभामा छलफल सुरु भएपछि मात्र सार्वजनिक गर्ने अभ्यास थियो । तर यसपटक प्रदेशसभामा छलफल नहुँदै रातो किताबको डिजिटल कपी सार्वजनिक भएको हो ।

आर्थिक मामिला मन्त्रालयको नियन्त्रणमा रहने उक्त वार्षिक विकास कार्यक्रम पुस्तिकाको डिजिटल फाइल सामाजिक सञ्जालबाट सार्वजनिक भएको दुई÷तीन दिन भइसकेको छ । मन्त्रालयका सचिव कमान सिंह खत्री र तल्ला तहका कर्मचारीले पनि यो विषयमा सार्वजनिक प्रतिक्रिया दिन मानेका छैनन् ।

पत्ता लगाउन सचिवलाई निर्देशन दिएको छुः मन्त्री पाल

आर्थिक मामिला मन्त्री सुरेन्द्रबहादुर पालले वार्षिक विकास कार्यक्रम पुस्तिका सार्वजनिक भएको विषय पत्ता लगाउन सचिवालाई निर्देशन दिएको बताउनुभयो । ‘कसले सार्वजनिक गरेको हो, जसरी पनि पत्ता लगाउनुहोस् भन्ने निर्देशन दिएको छु । त्यस्तो व्यक्तिलाई कारवाही गर्नुपर्छ भनेको छु’, उहाँले भन्नुभयो ।

मन्त्री पालले १ असारमा आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि ३१ अर्ब ६२ करोड रुपैयाँ बराबरको बजेट ल्याएका थिए । १३ असार भइसक्दा समेत प्रदेश सभामा बजेटमाथिको छलफल अगाडि बढ्न सकेको छैन । त्यही बेला अर्को विवाद आएको हो ।

सरकारमाथि नैतिक संकटः पूर्वअर्थमन्त्री

सुदूरपश्चिमका पूर्वआर्थिक मामिला मन्त्री झपटबहादुर बोहराले सरकारले गम्भीर त्रुटि गरेको प्रतिक्रिया दिनुभयो । ‘वार्षिक विकास कार्यक्रम पुस्तिकालाई सरकारले वैधानिक रुपमा प्रकाशित गर्नुपर्ने हो, अनाधिकृत रुपमा डिजिटल कपी कसरी सार्वजनिक भयो, सरकारमाथि प्रश्न र नैतिक संकट सिर्जना भएको छ’, उहाँले भन्नुभयो ।

विगतमा पुस्तिका छापेर सभामुखमार्फत प्रदेश सभा सदस्यहरुलाई वितरण गरेपछि सार्वजनिक गर्ने अभ्यास रहेको बोहराले बताउनुभयो। ‘सामाजिक सञ्जालमा सार्वजनिक कपी वार्षिक कार्यक्रम पुस्तिका हो कि होइन, हो भने कसको स्वार्थमा प्रकाशित गरियो, अहिले प्रश्न उठेको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि वार्षिक विकास कार्यक्रम पुस्तिका सार्वजनिक गर्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताएको छ । ‘विभागीय मन्त्री र माननीयहरुलाई समेत जानकारी नदिई प्रकाशित हुनु नराम्रो पक्ष हो । गलत गरिएको छ’, कांग्रेस संसदीय दलकी प्रमुख सचेतक गीता चौधरीले भन्नुभयो, ‘यसमा संलग्न जोसुकै भएपनि कारवाही गरिनुपर्छ ।’

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?