दार्चुला । सुदूरपश्चिम प्रदेश सरकारले नयाँ बजेट निर्माण गर्ने भएको छ । पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारी नेतृत्वको सरकारले बजेटसहित आर्थिक र विनियोजन ऐन पास गराउन नसकेपछि बजेट अन्योलता रहेको छ । सोमबार (आज) मुख्यमन्त्री कमलबहादुर शाहले पत्रकार सम्मेलन गर्दै वर्तमान सरकारले चाडैँ नयाँ बजेट ल्याउने बताउनुभयो ।

बजेटविहीन यस प्रदेशमा एक महिनादेखि उधारोमा आर्थिक गतिविधि चलिरहेको छ । चालु आर्थिक वर्षको तीन हप्तासम्म करसमेत सङ्कलन गर्न नसकेको सरकारले केही दिनअघि अध्यादेश ल्याएर कर सङ्कलन सुचारु गरेको छ । कर सङ्कलनसम्बन्धी अध्यादेश २०८१ जारी गरेर साउन २४ गतेबाट कर सङ्कलनको कार्य पुनः सुरु गरिएको हो । कर सङ्कलन सुरु भए पनि चालु खर्च भने साउन १ गतेदेखि ठप्प छ । चालु खर्च निरन्तर रूपमा सञ्चालन नहुँदा मन्त्रालय र मातहतका कार्यालयको सेवा प्रवाहमा असर परेको छ ।

नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत पाएपछि सरकारले पूर्ण बजेट ल्याउने धारणा राख्नुभएको थियो । सोमबार आयोजित पत्रकार सम्मेलनमा बजेटविहीनताका कारण उत्पन्न अवरोध हटाउनका लागि बजेटबाटै निकास दिने गृहकार्य भइरहेको बताइएको छ ।

तत्कालीन सरकारले चालु आवका लागि असार १ गते ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजार रुपियाँको बजेट प्रस्तुत गरेको थियो । राजनीतिक समीकरणमा फेरबदल भएसँगै एमाले सरकारबाट बाहिरिएपछि बजेट पारित हुन सकेन । तत्कालीन सरकारले सदनमा प्रस्तुत गरेको बजेट त्यत्तिकै थन्किएर बसेको छ । अहिलेको सरकारले नयाँ बजेट ल्याउने गरी तयारी थालेको बताइएको छ ।

प्रतिपक्षी दलका सासंदहरुले भने सदनमा विचाराधीन बजेट पारित गर्नुबाहेक निकासको अर्को विकल्प नभएको जिकिर गर्दै आएका छन् । बजेटविहीनताको अवस्था अन्त्यका लागि नयाँ बजेट ल्याउने निष्कर्षमा सरकार पुगेको मुख्यमन्त्री शाहको भनाई छ । संसदमा पेस भएको बजेट, नीति तथा कार्यक्रम, आर्थिक र विनियोजन ऐनलाई फिर्ता लिएर अहिलेको सरकारले आफ्नै हिसाबले बजेट प्रस्तुत गर्न सक्ने बताइएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?