ग्वानी  जिप दुर्घटनामा मृत्तकहरुको शव आफन्तलाई बुझाइयो, आजै अन्तिम संस्कार गरिदै

दुर्गादत्त मिश्र, दार्चुला । दार्चुला जिप दुर्घटनामा मृत्यु भएकाहरुको शव आफन्तले बुझेका छन् । दुर्घटनामा मृत्यु भएका ८ जनाकै शव गोकुलेश्वर अस्पतालमा पोष्टमास्टम पछी हिजो बेलुकी आफन्तको जिम्मा लगाईएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक क्षत्र बहादुर रावतले जानकारी दिनुभयो ।

शुक्रबार मालिकार्जुन मन्दिरको जात्राबाट फर्किरहेका दर्शनार्थीहरु चढेको जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको थियो भने ५ जना घाइते भएका छन् । घाइतेहरुको धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा परेर दार्चुलाको शैल्यशिखर नगरपालिकाका तीन जना कर्मचारी सहित चार जना, बैतडीको डिलाशैनी गाउँपालिकाका दुई जना र दुई जना भारतीय नागरिकको ज्यान गएको थियो ।

मृत्यु हुनेमा दार्चुलाको शैल्यशिखर नगरपालिका ९ नकतडका ४५ बर्षीय दिलिपसिंह बिष्ट, शैल्यशिखर नगरपालिका ९ गाँजरीकी ४० बर्षीया मीना लेखक, शैल्यशिखर नगरपालिका –५ लेकगाउँका ३० बर्षीय विरेन्द्र रावल र उनकी श्रीमति २५ बर्षीया शान्ति रावल, बैतडीको डिलाशैनी गाउँपालिका –५ नगराउँका ५० बर्षीय विरेन्द्र बोहरा र उनका १७ बर्षीय भतिजा अस्मित बोहरा रहेका छन् । मृत्तक सबैको आजै अन्तिम सस्कार गरिने आफन्तहरुले बताएका छन् ।

यस्तै भारतको उत्तर प्रदेश बिजनर जिल्लाको मुवारक बस्ने ४५ बर्षीय महोम्मद शाकिर र उत्तर प्रदेशकै मेजावट बस्ने २० बर्षीय बसिम खानको पनि दुर्घटना परी मृत्यु भएको थियो । उनीहरुका आफन्त पनी गोकुलेश्वरमा नै रहेको र यतै अन्तिम सस्कार गर्ने तयारी भईरहेको प्रहरीले बताएको छ ।

दुर्घटनामा घाइते भएका जिप चालक दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर –८ पस्तीका ३० बर्षीय सुनिल जोशी, बैतडीको डिलाशैनी गाउँपालिका वडा नम्बर –५ का ४१ बर्षीय उत्तम रोकाया, दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर–५ लेकगाउँका ७ बर्षीय सन्दीप रावल, शैल्यशिखर नगरपालिकावडा नम्बर –५ का प्रकाशसिंह डाँगा र भारतको पिलभित जिल्ला मारुडण्डा बस्ने १७ बर्षीय सोहिन शाहको धनगढीस्थित निर्सग अस्पतालमा उपचार भइरहेको र घाईतेहरुको अवस्था खतरामुक्त रहेको बताइएको छ ।

जिप सडकबाट एक सय मिटर तल खसेको थियो । तीव्र गति र अनिँदोका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?