दार्चुला । दार्चुलामा स्थानीय तह उपनिर्वाचन भएको एकमात्र वडा दुहुँ गाउँपालिका वडा नम्बर ५ मा वडाअध्यक्ष जितपछि नेपाली कांग्रेस दार्चुला उत्साहित बनेको छ । दुहुँमा सम्पन्न उपनिर्वाचनबाट नेपाली कांग्रेसका उम्मेदवार धनसिंह कुँवर वडाअध्यक्षमा विजयी हुनुभएको छ ।
कांग्रेसका उम्मेदवार कुँवरले ३७६ मत प्राप्त गरी विजय हासिल गर्नुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेद्वार मानसिहं बडालले ३५८ मत प्राप्त गर्नुभयो । माओवादी केन्द्रका उम्मेदवार वीर सिंह कार्कीले ९८ मत र स्वतन्त्र उम्मेदवार लालसिंह कुवँरले अर्ना चिन्हमा २५ मत प्राप्त गरेकाे निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । २० मत बदर भएको छ । यहाँ एमाले उम्मेदवार भन्दा कांग्रेस उम्मेदवारले १८ मतको अन्तरले जित हासिल गर्नुभएको हो ।
१२७२ मतदाता रहेको दुहुँ-५ मा ८७७ मत खसेको थियो । दुहुँ-५ मा २०७९ सालमा कांग्रेस-माओवादीको गठबन्धनबाट निर्वाचित माओवादी नेता तथा तत्कालीन वडाअध्यक्ष मनोरथ भट्टको निधन भएपछि उपनिर्वाचन भएको हो ।
वडाअध्यक्ष जितेकोमा कांग्रेसजन खुसी देखिन्छन । यद्यपि गत निर्वाचन २०७९ को समानुपातिक मतपरिणाम हेर्दा कांग्रेसको समानुपातिक मत घटेको देखिन्छ । संघीय निर्वाचनमा दुहुँ-५ मा कांग्रेसले रूख चिन्हमा ३७८ मत समानुपातिक प्राप्त गरेकोमा एमालेले २३५ मत मात्रै प्राप्त गरेको थियो । अर्थात गत चुनावमा एमाले भन्दा कांग्रेसले १४३ मत बढी प्राप्त गरेकोमा अहिले १८ मतको अन्तरले मात्रै वडाअध्यक्ष जितेको हो । चुनावमा हार व्यहोरेको एमालेको विगतको भन्दा मत वृद्धि भएको देखिन्छ भने माओवादी र कांग्रेसको मत घटेको देखिन्छ । कांग्रेसको सहयोगमा माओवादीले जितेको दुहुँ-५ माओवादीले गुमाएको छ भने स्थानीय सरकारको नेतृत्व गरिरहेको एमाले समेत उपनिर्वाचनमा जित निकाल्न नसकेपछि स्तब्ध बनेको छ । जिल्लामै चुनाव भएको एकमात्र वडा जितेकोमा कांग्रेसजन उत्साहित छन् ।
दुहुँ-५ मा निर्वाचित वडाअध्यक्ष धनसिंह कुवरलाई कांग्रेस केन्द्रीय सदस्य, दार्चुलाबाट निर्वाचित प्रतिनिधिसभा सांसद तथा पूर्वमन्त्री दिलेन्द्र प्रसाद बडू लगायत नेताहरूले बधाई ज्ञापन गरेका छन् । दुहुँको उपनिर्वाचनको क्रममा कांग्रेस नेता तथा पूर्वमन्त्री एनपी साउद लगायत नेताहरू निर्वाचन क्षेत्रमा खटिएका थिए । कांग्रेस दार्चुलाका सचिव पुलेन्द्रबहादुर कार्की लगायत स्थानीय नेताहरू समेत भरपूर खटिएका थिए । नेता बडूले उपनिर्वाचनमा अहोरात्र खटिएर मेहनत गर्ने कांग्रेस जिल्ला कार्यसमिति परिवार एवं सम्पूर्ण स्थानीय नेता/ कार्यकर्तालाई सामाजिक सञ्जालमार्फत समेत बधाई र धन्यवाद ज्ञापन गर्नुभएको छ । कांग्रेस दार्चुलाका कोषाध्यक्ष तथा महाकाली नगरपालिकाका पूर्व नगरप्रमुख हंशराज भट्टले दुहुँको जितलाई ०८४ को लागि जितको सुरूवात भएको टिप्पणी गर्नुभएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया