दार्चुला । कमजोर आर्थिक अवस्थाका कारण उपचारमा समस्या भोगिरहेका बैतडीको डिलाशैनी गाउँपालिका वडा नम्बर ७ धामीगाउँका रोशन धामीलाई सहयोग जुट्न थालेको छ । टाउकोको अप्रेसनप्रश्चात अहिले काठमाडौंको वीर अस्पतालमा रहेका धामीको उपचारका लागि देशविदेशमा रहेका नेपालीहरुले सहयोग गरिरहेका छन् । आर्थिक अभावमा औषधीउपचारको पैसा तिर्न र घर फर्किन समेत समस्या भएपछि सहयोगका लागि अपिल गरिएको छ ।
अहिलेसम्म करिब ५५ हजार रुपैयाँ संकलन भइसकेको रोशनकी आमा पार्वती धामीले बाउनुभयो । सहयोग आउने क्रम जारी रहेको उहाँको भनाइ छ । शनिबार दिउँसो साढे १२ बजेसम्म आएको ४० हजार रुपैयाँ फार्मेसीमा जम्मा गरेको उहाँले बताउनुभयो । पुस ४ गते रोशनको टाउकोको अप्रेसन भएको थियो ।उपचारमा आर्थिक अभाव भएको र डिस्चार्ज भएर घर जानसमेत आर्थिक समस्या भएकोबारे समाचार प्रकाशन भएपछि सहयोग संकलन सुरु भएको छ ।
‘२० हजारमा खेत बन्दगी राखेर अस्पतालसम्म आइपुग्यौं । ऋण गरेर अप्रेसन भयो । फार्मेसीबाट औषधि पनि उधारो नै चलाइरहेका थियौं । अहिले सहयोग जुट्न थालेपछि धेरै राहत भएको छ । घर जाने आश पलाएको छ’, पार्वतीले भन्नुभयो । चिकित्सकहरुका अनुसार रोशन अझै कम्तीमा ४ दिन अस्पतालमै रहने छन् । ‘मेडिकलमा मंगलबारसम्म १ लाख २ हजार पुगेको भन्नुभएको थियो । त्यसपछि हिसाब मागेको छैन । दाताहरुबाट उठेको ४० हजार रुपैयाँ आज त्यहाँ बुझाएका छौं’, पार्वतीले भन्नुभयो, समाचार छापिएपछि स्वास्थ्यमन्त्री प्रदीप पौडेलको सचिवालयले पनि बिरामीको अवस्था र अस्पतालमा लाग्ने खर्चको विषयमा चासो राखेको थियो । यस्तै डिलासैनी गाउँपालिकाका अध्यक्ष सन्तोषप्रकाश जोशीले पनि फोन गरेर बिरामीको अवस्था र अपुग रकमको बारेमा जानकारी लिएको बताइएको छ । यस्तै अस्पतालका निर्देशक सन्तोष पौडेलले पनि समाचार आएपछि चासो राखेका थिए । उहाँले भन्नुभयो, ‘छुट सुविधामा शल्यक्रिया सेवा दिएका थियौं । पैसाको अभावले वीरमा कसैको उपचार रोकिएको छैन र भविष्यमा पनि रोकिने छैन । निज बिरामीको वीरमा सेवा शुल्क बुझाउन बाँकी छैन ।’
पार्वतीले पनि अस्पतालमा अहिले बुझाउन बाँकी नरहेको, तर बाहिर मेडिकलमा औषधिको पैसा तिर्न समस्या भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अप्रेसनको बेला ३५ हजार भन्नुभएको थियो । पछि ५० प्रतिशत छुटमा गराउनुभयो । अनि आईसीयूमा १० हजार तिरे । अन्य केही रगत परीक्षणका लागि खर्च भएको थियो, तर अहिले अस्पतालबाट केही पनि भन्नुभएको छैन पैसाका लागि ।’ घर जान एक जनाको टिकट नै ४ हजार ५०० रुपैयाँ पर्ने अवस्था र मेडिकलमा पनि लाख रुपैयाँ पुगेपछि आफू आत्तिएको उहाँको भनाइ छ । काठमाडौं आउँदा २० हजारमा खेत बन्दगी राख्नुपरेको यथार्थ सम्झिँदै उहाँले फेरि पनि मेडिकलको बाँकी रहेको पैसा र आफन्तको ऋण कसरी तिर्ने भन्ने चिन्ता भएको बताउनुभयो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया