दार्चुला । दार्चुलाको महाकाली नगरपालिका–५ किम्तडी ठण्याकाठामा सडक निर्माणको क्रममा पहिरो खस्दा महाकाली लोकमार्ग अन्तरगत खंलगा–गोकुलेश्वर सडक खण्ड अबरुद्ध भएको छ । किम्तडी भिरमा खसेको पहिरो पन्छाउन नसक्दा दुई दिनदेखि सडक पूर्णरुपमा अवरुद्ध भएको हो । पहिरोले विद्युत लाइनमा समेत क्षति पुगेको छ ।
शुक्रबार विहान ६ बजेको समयमा निर्माण क्षेत्र माथिबाट पहिरो खस्दा स्काइभेटर सडकबाट २०/२५ मिटर तल महाकाली किनारमा खसेको थियो भने स्काइभेटर अपरेटर जाजरकोटको जुलीचादे गाउँपालिका–११ घर भएका रेशम बुढा गम्भीर घाइते हुनुभएको थियो । घाइते चालकलाई दार्चुलामा उपचार सम्भव नभएपछि हेलिकोप्टरमार्फत उद्धार गरि धनगढी लगिएकोमा धनगढीबाट समेत कोहलपुर रेफर गरिएको निर्माण व्यवसायी सुरेन्द्र बमले बताउनुभयो । अबरुद्ध सडक खुलाउनको लागी शनिबार विहानैबाट महाकाली नगरपालिकाको स्काइभेटर प्रयोग गरिएको भएपनी माथिबाट पहिरो खसिरहेकाले काम गर्न अपठ्यारो भइरहेको जिल्ला प्रशासन कार्यालय दार्चुलाका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउँदले जानकारी दिनुभयो । अबरुद्ध सडक खुलाउन अझै एक÷दुई दिन समय लाग्न सक्ने उहाँले बताउनुभयो ।
सडक अबरुद्ध भएपछी जिल्लाका विभिन्न स्थानका साथै दार्चुलाबाट कैलाली, कञ्चनपुर, काठमाण्डौँका लागि छुट्ने र जिल्ला सदरमुकाम खलंगा भित्रिने यातायातका साधनहरु र यात्रुहरुलाई समस्या भएको छ । खलंगाबाट किम्तडीसम्म पैदल हिडेर यात्रा गर्नुपरेको यात्रु लिलाधर जोशीले बताउनुभयो । सडकबाट हिडडुल गर्न समेत जोखिमपूर्ण रहेकोले यात्रुहरुको लागी सशस्त्र प्रहरी बल दार्चुलाको टोलीले किम्तडी भिरमा शनिबार पैदलमार्ग निर्माण गरेको छ । पहिरोमा परि महाकाली नदी किनारमा खसेको स्काइभेटर पनी निकाल्ने काम भइरहेको प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले बताउनुभयो ।
यसअघी पुस १५ गते पनी उक्त क्षेत्रमा सडक निर्माणकै क्रममा पहिरो खस्दा एक हप्तासम्म सडक अवरुद्ध भएको थियो । सडक अवरुद्ध हुँदा यात्रुहरुले सास्ती भोग्नुपरेको गुनासो गरेका छन् ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया