सञ्चालनको पर्खाइमा नेपाल–भारत जोड्ने मोटरेबल पुल, सुरक्षा पोष्ट र भन्सार राख्न पहल

दार्चुला । दार्चुलाको महाकाली नगरपालिका–८ असिगडामा नेपाल–भारत जोड्ने मोटरेबल पुल निर्माणको काम सकिएको छ । दार्चुलाको असिगडा र भारतको पिथौरागढ जिल्लास्थित छारछुम क्षेत्र जोड्ने ११० मिटर लम्बाइको मोटरेबल स्टिल ब्रिज निर्माण सम्पन्न भइ सञ्चालनको पर्खाइमा रहेको छ ।

भारतीय कम्पनी पी एन्ड आर इन्फ्रा प्रोजेक्ट लिमिटेड पञ्जाबले निर्माण गरेको पुलको लागत ३२ करोड ९८ लाख भारतीय रुपियाँ रहेको छ । दार्चुलामा बनेको यो पुल सुदूरपश्चिममा कञ्चनपुरपछि भारतसंग जोड्ने दोस्रो मोटरेबल नाका बनेको छ । पुल निर्माणको काम सम्पन्न भएपनि लोकमार्गबाट पुलसम्म जोड्ने सडक र पुल संरक्षणका लागि तटबन्ध निर्माणको काम भइरहेकोले पुल सञ्चालनमा आउन अझै केही समय लाग्ने दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले बताउनुभयो ।

भारतीय पक्षले निर्माण गरेको उक्त पुलको मूनी संरक्षणका लागि ठूलठूला ब्लकहरु राखेर बेस प्रोटेक्सनको काम भइरहेको छ, प्रजिअ जोशीले भन्नुभयो, सडक पनि दुईतर्फी बनाउने काम भइरहेको छ । अबको एक÷दुई महिनामा सबै काम सकिने उहाँको भनाई छ ।

पुल क्षेत्रमा सुरक्षा चेक पोष्ट र भन्सार कार्यालय राख्नका लागि समेत आआफ्नो क्षेत्रबाट कार्य अगाडी बढाउने निर्णय गरिएको उहाँले बताउनुभयो । सरोकारवाला सबै कार्यालयलाई आवश्यक तयारी गर्न जानकारी गराइसकेका छौँ, उहाँले भन्नुभयो, सुरक्षा पोष्ट र भन्सारका लागि पहल भइरहेको छ । भारततर्फ समेत सुरक्षा र भन्सारका लागि तयारी भइरहेको बताइएको छ । पुल निर्माण सम्पन्न भइसकेकोले यातायातका साधनहरु सञ्चालनमा आउनुपर्ने स्थानीयबासीन्दाको माग छ ।

पुल सञ्चालनमा आएपछि नेपाल र भारत दुबैतर्फ आर्थिक, सामाजिक, धार्मिक र पर्यटकीय क्षेत्रमा सकारात्मक प्रभाव पर्ने महाकाली नगरपालिकाका प्रमुख नरसिंह चैसिरको भनाई छ । यो पुलबाट दार्चुला, बैतडी, बझांगसहित सुदूरपश्चिमका अधिकांश जिल्लालाई फाइदा हुने अपेक्षा गरिएको छ । पुलमा यातायातका साधनहरु चल्न थालेपछि भारतको पिथौरागढ हुँदै विभिन्न सहर र नेपालका विभिन्न जिल्लामा दुई देशीय आवतजावत गर्न सहज हुनेछ ।

पुल सञ्चालन भएपछि सरकारी र नागरिकस्तरमा दुई देशको सम्बन्ध थप बलियो हुनुका साथै दार्चुलासहित सुदूरपहाडको स्थानीय कृषि उत्पादन, जडीबुटी, धातु र कच्चा पदार्थको अन्तर्राष्ट्रिय व्यापारमा समेत सहज हुने उहाँले बताउनुभयो । पुलबाट व्यापारी, स्थानीय यात्रु, पर्यटक र तिर्थयात्रीहरुलाई समेत धेरै फाइदा पुग्नेछ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?