दार्चुला । शैल्यशिखर नगरपालिकाको वडा नम्बर ८ ले वडाभित्रका टुहुरा बालबालिकालाई ६० हजार आर्थिक सहायता प्रदान गरेको छ । आमाबुबा दुबै नभएका ४ जना बालबालिकालाई ५ हजारका दरले २० हजार र आमा वा बुबामध्ये कुनै एक नभएकालाई २ हजार ५ सयका दरले १६ जनालाई ४० हजार नगद गरी कुल ६० हजार आर्थिक सहायता प्रदान गरिएको वडाअध्यक्ष केशवदत्त जोशीले जानकारी दिनुभयो । वडाभरीका टुहुरा बालबालिका २० जनालाई नगदसहित एक एक वटा स्कुल झोला समेत उपलब्ध गराएको उहाँले बताउनुभयो ।
२०७९ सालको स्थानीय तह निर्वाचनमा वडाअध्यक्षमा निर्वाचित केशव जोशी २०७४ को निर्वाचनबाट वडा सदस्यमा निर्वाचित हुनुभएको थियो । यसअघि २०७४ सालमा वडासदस्य भएदेखि दुहुरा बालबालिकालाई आर्थिक सहायता स्वरुप हरेक वर्ष नगद सहयोग गर्दै आएको उहाँले बताउनुभयो । गतवर्षसम्म व्यक्तिगत रुपमा र चालु आर्थिक वर्षमा वडाबाट बजेट विनियोजन गरेर टुहुरा बालबालिकालाई सहयोग गरिएको बताइएको छ ।
यसैबिच शैल्यशिखर नगरपालिका र गलैनाथ मावि झरकाँडाले वडाअध्यक्ष केशव जोशीलाई सम्मानित गरेको छ । गलैनाथ मावि झरकडाले विद्यालयको चौतर्फी विकासमा पुर्याएको योगदानको कदर गर्दै सम्मानपत्रद्धारा वडाअध्यक्ष जोशीलाई सम्मान गरेको जनाएको छ ।
यस्तै स्थानीयतह गठनदेखि जनप्रतिनिधिको हैसियतले जनसेवामा पुर्याएको योगदानको कदर गर्दै शैल्यशिखर नगरपालिकाले समेत शैल्यशिखर वडा नम्बर ८ का वडाअध्यक्ष जोशीलाई सम्मानित गरेको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले प्रष्ट गरेको अधिकारको परिधिभित्र रहि वडाको भौतिक विकासका अतिरिक्त सामाजिक विकास अन्तरगत विद्यालय भवन निर्माण, स्वास्थ्य संस्था निर्माण र सञ्चालन तथा सांस्कृति विकास अन्तरगत वडामा रहेका मठ मन्दिरहरुको मर्मत, संरक्षण तथा सम्बद्र्धन गरि पर्यटन विकासमा देखाएको सक्रियताको कदर गर्दै सम्मानित गरिएको नगरप्रमुख विजयसिंह धामीले बताउनुभयो ।
नगरपालिकाद्धारा वडाअध्यक्ष जोशीलाई प्रदान गरिएको सम्मानपत्रमा सामाजिक र आर्थिक रुपमा पछाडि रहेका वर्ग र समुदायको हितमा काम गरि मानवीय सदभावना प्रकट समेतको प्रशंसा गर्दै भविष्यमा पनि सोही अपेक्षाका साथ उर्वर राजनीतिक र सामाजिक प्रगतिको कामना गरिएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया