दार्चुला । नेकपा (एमाले) ले शनिबार तीन महिने वडा केन्द्रीत अभियान अन्तरगत लेकम गाउँपालिका वडा नम्बर ३ लालीमा कार्यक्रम आयोजना गरेको छ । जिल्लाका ६१ वडामै पुग्ने गरि परिचालन भएको एमाले दार्चुलाको मूल टोलीको कार्यक्रम लालीमा अन्तरक्रिया गर्दै सम्पन्न भएको हो ।
मालिकार्जुन गाउँपालिकाका आठ वटै वडामा कार्यक्रम आयोजना गरेर एमाले दार्चुलाको मूल टोली लेकम गाउँपालिका आइपुगेको हो । लालीमा आयोजित कार्यक्रममा कार्यकर्ताका सुझाब सुन्नुको साथै जनप्रतिनिधि र अतिथिहरूले जवाफ दिएका छन् । एमाले पोलिटब्युरो सदस्य गणेशसिंह ठगुन्नाको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा केन्द्रीय सदस्य हरदेब जोशी, जिल्ला कमिटी अध्यक्ष ज्ञानेन्द्र घर्ती, जिल्ला उपाध्यक्ष तथा लेकम इन्चार्ज परमानन्द जोशी, लेकम गाउँपालिका उपाध्यक्ष माधवी जोशी, एमाले सल्लाहकार परिषद जिल्ला अध्यक्ष अम्बादत्त जोशी, लेकम गाउँकमिटी अध्यक्ष पुष्पराज जोशी, वडाअध्यक्ष सुरेशसिंह थापा लगायत जिल्ला, पालिका र वडा कमिटीका नेताहरुको आतिथ्यता रहेको थियो । उक्त कार्यक्रममा नेपाली कांग्रेश परित्याग गरेका आएका मिरा पार्कीलाई एमालेमा स्वागत गरिएको छ भने एमालेका संस्थापक र पुराना नेता, कार्यकर्तालाई सम्मान समेत गरिएको छ ।
कार्यक्रमका सहभागीले जनताको घरदैलोमा जनप्रतिनिधि पुग्नुपर्ने र आवश्यकतालाई प्राथमिकताका आधारमा समाधान गर्नुपर्ने सुझाव दिएका छन् । कार्यक्रममा वडाअध्यक्ष सुरेशसिंह थापाले सबै टोल समेटेर वडाको बजेट विनियोजन गरिएको र आगामी दिनमा पनि स्रोतको उच्चतम सदुपयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । गाउँपालिका उपाध्यक्ष माधवी जोशीले बजेट सबै वडा, क्षेत्र समेटेर विनियोजन गरिएको बताउदै आवश्यकता धेरै र श्रोत कम हुदा जनताले प्रश्न उठाउने स्थिति रहेको प्रष्ट्याउनुभयो ।
एमाले जिल्ला कमिटी उपाध्यक्ष तथा लेकम गाउँपालिका इन्चार्ज परमानन्द जोशीले लेकमको समग्र विकासको अगुवाइ एमालेले गरेको र आगामी दिनमा पनि जनताका समस्या समाधानका लागि सधैं जनताको बिचमा रहने प्रतिबद्धता जनाउनुभयो । जनता, कार्यकर्ता र जनप्रतिनिधिबिच समन्वय बढाउनुपर्ने सुझाव दिनुभयो ।
एमाले दार्चुलाका अध्यक्ष ज्ञानेन्द्र घर्तीले जनताका समस्या समाधानका लागि जनप्रतिनिधि र स्थानीय पार्टी कमिटी एक ठाउँमा उभिनुपर्ने बताउनुभयो । पार्टीले संगठन शुद्धीकरण र सुदृढीकरण गर्न तीन महिने अभियान चलाएको बताउदै उहाँले अभियान सम्पन्न भएपछि उत्कृष्ट वडा, कमिटी, सहजकर्ता र इन्चार्जलाई सम्मान गर्ने जानकारी दिनुभयो । अन्तर पार्टी निर्देशनमा जारी भएका हरेक बुदा कार्यान्वयन गर्नुपर्नेमा उहाँको जोड छ ।
एमाले केन्द्रीय कमिटी सदस्य हरदेव जोशीले पराजित भएर पनि एमाले नेता जनताको बिचमा रहेको र चुनाव जितेर गएकाहरू जनताका समस्या समाधान गर्नुको सट्टा गैरजिम्मेवार कुरा गर्दै भागेर हिडिरहेको धारणा राख्नुभयो । पार्टीले गरेका राम्रा कामको सन्देश आम जनताको बिचमा लैजान कार्यकर्ताहरूलाइ उहाँले सुझाव दिनुभएको छ ।
एमाले पोलिटब्युरो सदस्य गणेशसिंह ठगुन्नाले पार्टीको वडा, टोल सम्मको अवस्था बुझ्न, संगठन बलियो बनाउन र एमालेको नीति, कार्यक्रम तथा विचार जन-जनमा पुर्याउन पार्टीले तीन महिने वडा केन्द्रीत जरा कार्यक्रम सुरू गरेको बताउनुभयो । उहाँले समृद्ध नेपाल, सुखी नेपाली निर्माण गर्ने एमालेको लक्ष्य रहेको र त्यसका लागि वडादेखि केन्द्रसम्म एमालेको नेतृत्वमा एकल बहुमतको सरकार बन्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । एमालेले समृद्धिका लागि चार वडा पिल्लर खडा गर्न चाहेको छ, उहाँले भन्नुभयो, चारमध्ये तीन वटा पिल्लर सार्वभौमसत्ता, भगौलिक अखण्डता तथा स्वाभिमानको रक्षा, सम्पूर्ण क्षेत्रमा पूर्वाधार निर्माणका कामहरू सम्पन्न गर्ने, जनतालाई सामाजिक सुरक्षा कार्यक्रममा जोड्दै लैजाने गरि एमालेले हालेको छ । यस्तै उत्पादनमा आत्मनिर्भर बन्दै रोजगारी सिर्जना गर्ने एमालेको लक्ष्य रहेको उहाँले बताउनुभयो । विकास निर्माणको अगुवाइ एमालेले गर्दै आएको उहाँको भनाइ छ । आइतबार (आज) लेकमको वडा नम्बर ४ खरकडामा कार्यक्रम गर्ने एमाले दार्चुलाले जनाएको छ।


विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया