दार्चुला । नेपाल सरकारले ईजाजत भएका र नभएका हातहतियार प्रशासनमा बुझाउन अनुरोध गरे अनुसार जिल्ला प्रहरी कार्यालय दार्चुलाले एक सय २४ थान बन्दुक संकलन गरेको छ ।
सरकारले २०७५ साल फागुन २८ गते विप्लब समूहलाई प्रतिबन्धित समूह घोषणा गरेकाले जिल्लामा शान्ती, सुरक्षा र अमनचयन कायम राख्न सबैलाई हातहतियार जिल्ला प्रशासन कार्यालयमा बुझाउन अनुरोध गरिएको प्रहरीले जनाएको छ ।
मंगलबार मात्रै होपरीगाड प्रहरी चौकीमा पाँच थान बन्दुक संकलन भएको छ । डेढ बर्ष यता जिल्ला प्रहरी कार्यालय दार्चुलामा एक सय २४ थान बन्दुक संकलन भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । अझैपनि घरमा कसैले हातहतियार राखेको भए नजिकको प्रहरी कार्यालयमा बुझाउन जिल्ला प्रशासन कार्यालय दार्चुलाले सबैमा अनुरोध गरेको छ ।
गत भदौँ १२ गते नौगाड गाउँपालिका–४ मल्लोमट्टेका बिक्रम धामीलाई भरुवा बन्दुक सहित प्रहरीले पक्राउ गरेको थियो । हतियार प्रहरीमा नबुझाएका मानिसहरुलाई कार्वाही गर्ने चेतावनी पछि स्थानीयले थप पाँच वटा बन्दुक प्रहरी चौकीमा बुझाएका छन् ।
अपि नाम्पा संरक्षण क्षेत्रमा इजाजत पत्र बिना भरुवा बन्दुक सहित पक्राउ परेका धामीको मिसिल सरकारी वकिल कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।
गत जेठ ३१ गते दुहुँ गाउँपालिका–१ को सौतलीमा पर्ने दुर्गे भवानी सामुदायिक वन क्षेत्र भित्र समेत वेवारिसे अवस्थामा भरुवा बन्दुक फेला परेको थियो । गाेरखापत्र अनलाइनमा समाचार छ ।




