दार्चुला । दार्चुलाको दुहुँ गाउँपालिका वडा नम्बर ३ ले माध्यमिक शिक्षा (एसइई) परीक्षामा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई प्रोत्साहन गर्ने भएको छ । वडाभित्र रहेका दुईवटा विद्यालयबाट एसइईमा सहभागी भएर उत्कृष्ट अङ्क ल्याउनेलाई प्रोत्साहन स्वरूप नगद रकम दिने निर्णय गरिएको वडा अध्यक्ष देवबहादुर बमले जानकारी दिनुभयो ।
एसइईमा सहभागिता जनाउने वडा भित्र रहेका जनविकास माध्यमिक विद्यालय बारबाँज र गणेश माध्यमिक विद्यालय सिमिलमा अध्ययनरत विद्यार्थी मध्ये उत्कृष्ट नतिजा ल्याउनेलाई प्रोत्साहन स्वरूप नगद रकम दिने निर्णय भएको उहाँले बताउनुभयो ।
वडा कार्यपालिकाले परीक्षामा सहभागी भई गणित, विज्ञान र अङ्ग्रेजी विषयमा उत्कृष्ट जिपिए ल्याउने विद्यार्थीलाई प्रोत्साहन स्वरूप पुरस्कार दिने निर्णय गरेको हो ।
जसअनुसार ३.२ जिपिए ल्याउने विद्यार्थीलाई नगद ५ हजार, ३.६ जेपिए ल्याउनेलाई १५ हजार र ३.६ भन्दा माथि ल्याउनेलाई २५ हजार रूपैयाँ दिने निर्णय भएको वडा अध्यक्ष बमले बताउनुभयो ।
प्रोत्साहन रकमले विद्यार्थीलाई पढाईमा केन्द्रित गरि प्रतिस्पर्धा गर्न प्रेणा मिल्ने अध्यक्ष बमको भनाइ छ ।
दुहुँ गाउँपालिकाले एसइई नतिजा सुधारको लागी अभिभावक, शिक्षक, विद्यार्थी र सरोकारवालाबीच शैक्षिक अन्तरक्रिया र प्रि-टेस्ट परीक्षा समेत सञ्चालन गरेको थियो । अहिले कमजोर विषयमा नतिजा सुधारको लागि अतिरिक्त कक्षा समेत सञ्चालन गर्ने तयारी भइरहेको गाउँपालिकाका शिक्षा शाखा संयोजक लोकन्द्र बहादुर बमले जानकारी दिनुभयो ।





प्रतिक्रिया