दार्चुला । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ४ मा रहेको हुनैनाथ माध्यमिक विद्यालय रातामाटाको ५७औँ वार्षिकोत्सव सामारोह तथा अभिभावक दिवस सोमबार (आज) उद्घाटन गरिएको छ । विद्यालय व्यवस्थापन समिति अध्यक्ष दिलाराज ओझाको अध्यक्ष्यता एवम् प्रदेश सभा सदस्य बिक्रमसिंह धामीको प्रमुख आतिथ्यता र लेकम गाउँपालिका अध्यक्ष रामदत्त जोशी, उपाध्यक्ष माधवी जोशी, लेकम गाउँपालिकाका पूर्वअध्यक्ष तथा एमाले जिल्ला कमिटी उपाध्यक्ष परमानन्द जोशी, नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश समिति सदस्य मदन गिरी लगायतको विशिष्ट आतिथ्यता रहेको कार्यक्रममा वडा नम्बर २ र ४ का वडाअध्यक्ष, लेकम गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अम्बादत्त जोशीसहित कर्मचारी, जनप्रतिनिधि, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक, अभिभावक, विद्यार्थी र शिक्षाप्रेमी सरोकारवालाहरूको आतिथ्यता रहेको थियोे ।
विद्यालयका प्रधानाध्यापक श्यामराज जोशीले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रधानाध्यापक जोशीका अनुसार विद्यालयको कुल आय १ करोड ३७ लाख ७९ हजार २३६ रुपैयाँ रहेको छ। त्यस्तै सोही अवधिमा विद्यालयले १ करोड २५ लाख ८८ हजार २३ रूपैयाँ खर्च गरेको छ भने ११ लाख ९१ हजार २१३ रूपैयाँ बचत रहेको छ।
पछिल्लो समय विद्यालयमा विद्यार्थी संख्या निरन्तर घटीरहेको प्रति प्रधानाध्यापक जोशीले चिन्ता व्यक्त गर्नुभयो । विद्यालयको शैक्षिक र भोतिक गुणस्तर सुधारका लागी सबै पक्षले ध्यान दिनुपर्ने प्रधानाध्यापक जोशीको भनाई छ। वार्षिकोत्सबको अवसरमा सांस्कृतिक प्रस्तुति र शुभकामना मन्तव्यहरू राखिएका थिए । विद्यालयको गुणस्तर सुधार र विकासका लागि अतिथि वक्ताहरूले सुझाव दिएका छन् ।
मंगलवार (भोली) सम्म चल्ने समारोहमा राम चरित अखण्ड रामायण महायज्ञ सञ्चालन हुने छ । सोमबार राति र मंगलबार अखण्ड रामायण महायज्ञ सञ्चालन हुने भएकोले सबैलाई निमन्त्रणा समेत गरिएको विद्यालयले जनाएको छ ।





प्रतिक्रिया