दार्चुला । दार्चुलामा माध्यमिक शिक्षा परीक्षा (एसइई) को लागि १७ वटा परीक्षा केन्द्र निर्धारण गरिएका छन । जिल्ला भरिका ७६ वटा विद्यालयका एसइई दिने परीक्षार्थीको लागी १७ वटा परीक्षा केन्द्र निर्धारण गरिएको शिक्षा विकास तथा समन्वय इकाई दार्चुलाले जनाएको छ।
अगामी चैत्र ७ गते देखि १९ गतेसम्म संञ्चालन हुने माध्यमिक शिक्षा परीक्षामा जिल्ला भरिका ३ हजार १ सय ८६ जना विद्यार्थी सहभागी हुनेछन् । यसका लागि अहिले शिक्षा विकास तथा समन्वय इकाई कार्यालय दार्चुलाबाट परीक्षा केन्द्र निर्धारण, विद्यार्थीको आवेदन फारम भर्ने र अनलाइन इन्ट्री गर्ने काम सम्पन्न भएको शिक्षा विकास तथा समन्वय इकाई, कार्यालय दार्चुलाका कार्यालय प्रमुख जयराज पन्तले जानकारी दिनुभयो ।
कार्यालयले हिमालय मावि हुती, जन विकास मावि बारबाज, महेन्द्र नमुना मावि खलंगा “क र ख” मालिकार्जुन मावि धाप, गोकुलेश्वर मावि गोकुलेश्वर “क र ख” छान्ना तिंकरी कन्या मावि, शंकरपुर मावि पस्ती, लटिनाथ मावि रस्कोट, सरस्वती मावि उकु, मालिकार्जुन मावि मड, लटिनाथ मावि चौपाता, कृष्ण मावि बलाँच, तपोबन मावि पडपडा, गणेश विनायक मावि सिप्टी र लटिनाथ मावि खार विद्यालयमा परीक्षा केन्द्रहरु निर्धारण गरेको छ।
जिल्लामा रहेका पुरानो कोर्षको विद्यार्थीको लागी एउटै केन्द्र निर्धारण गरिएको छ। २०७८।७९ का साधारण धार तर्फका विद्यार्थीहरुका लागी खंलगामा रहेको छन्ना टिंकरी कन्या माध्यमिक विद्यालयमा परीक्षा केन्द्र तोकिएको छ। यस्तै यो बर्ष प्राविधिक धार तर्फको परीक्षा खंलगामा रहेको महेन्द्र नमुना माध्यमिक विद्यालयको क र ख केन्द्र बाट संञ्चालन हुने कार्यालयले जनाएको छ ।
विद्यार्थीहरुको प्रवेशपत्र जिल्ला पुगेकाले सम्बन्धित विद्यालयहरुलाई विद्यार्थीको प्रवेशपत्र बुझ्न पत्राचार गरिएको छ । विद्यार्थीहरुका लागि चाहिने उत्तरपुस्तिका जिल्ला पुगेकाले उत्तरपुस्तिका अगामी चैत्र पहिलो साता परीक्षा केन्द्रहरूमा पठाउने तयारी गरिएको छ । उत्तरपस्तिका र प्रश्नपत्र संगै पठाउने तयारी भएको कार्यालय प्रमुख पन्तले बताउनुभयो ।





प्रतिक्रिया