धनगढीमा एमालेको प्रदेश स्तरीय कार्यशाला: कामको प्रचार गर्नुपर्ने र भ्रम चिर्नुपर्नेमा जोड

दार्चुला । नेकपा (एमाले) का केन्द्रीय सचिव लेखराज भट्टले नेकपा (एमाले) र वर्तमान सरकार सही बाटोमा गइरहे पनि विपक्षीले अनेक भ्रम फैलाइरहेकोले त्यसलाई चिर्न पार्टी पङ्क्ति लाग्न आवश्यक रहेको बताउनुभएको छ । ‘विरोधीले प्रशंसा गरिरहेको छ भने केही बिग्रिरहेको त छैन भनेर शङ्का गर्नुपर्छ, धुमधाम विरोध गरिरहेको छ भने राजनीति सही बाटोमा छ भन्ने बुझ्नुपर्छ’ सचिव भट्टले भन्नुभयो ।

एमाले सुदूरपश्चिम प्रदेश कमिटीले आयोजना गरेको प्रदेशस्तरीय कार्यशालालाई सम्बोधन गर्दै भट्टले भन्नुभयो, ‘पार्टी नेतृत्व सही बाटोमा गइरहेको बेला एक तप्काले निरन्तर विरोध गरिरहेको छ, एमाले ठिक ठाउँमा भएकै कारण पार्टी र नेतृत्वका विरूद्व निरन्तर आक्रमण भइरहेको छ, त्यो भ्रम चिर्न, गरेका कामको प्रचार गर्न तथा नेतृत्व र विचारको रक्षा गर्न आवश्यक छ ।’ कार्यकर्ताले ध्वंस गर्ने उद्देश्यले नभइ रचनात्मक हिसाबले उचित प्लेटफर्ममा पार्टी नेतृत्वको स्वस्थ आलोचना गर्न मिल्ने उहाँले बताउनुभयो ।

एमाले स्थायी कमिटी सदस्य तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले सामाजिक सञ्जालमा झुटा र भ्रमपूर्ण सूचनाले सारा देश, राजनीतिक नेतृत्व तरङ्गित गरिरहेको बताउनुभयो । सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक  ल्याएकोमा पक्ष विपक्षमा बहस जारी रहेको उल्लेख गर्दै उहाँले सामाजिक सञ्जालको नियन्त्रण नभइ उपयुक्त नियमन गर्न ल्याइएको उहाँले स्पष्ट पार्नुभयो । अभिव्यक्ति स्वतन्त्रताबाट वञ्चित गर्न ल्याएको भन्ने भ्रम छर्न खोजिएको छ, गौतमले भन्नुभयो, ‘सरकारले सामाजिक सञ्जालका प्लेटफर्ममा अहिले प्रयोग भएका शब्द सामग्रीलाई व्यवस्थित हुनेगरी ल्याउन खोजेको होला, पार्टीका कार्यकर्ताले पनि सोसल मिडियाको प्रभाव, प्रयोग र दुरुपयोग थाहा पाउनुपर्छ ।’ सामाजिक सञ्जालको दुरुपयोग रोकी सही प्रयोग तथा सदुपयोगमा अभिप्रेरित गर्नुपर्नेमा उहाँको जोड छ ।

एमालेका सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्णप्रसाद जैसीले कार्यशालामा सामाजिक सञ्जालको प्रयोग, दुरुपयोगबारे जानकारी दिने, पार्टी र आम सञ्चारसँगको सम्बन्ध र सुदूरपश्चिममा पार्टी प्रचारको भावी कार्ययोजना बनाउने बताउनुभयो । पार्टीको प्रदेश प्रचार संयोजक भागिरथी विष्टले पार्टी प्रचारका लागि नेतृत्वको क्षमता बढाउन सञ्चार विज्ञबाट प्रशिक्षण गराइने बताउनुभयो ।

नेकपा (एमाले) का सुदूरपश्चिम प्रदेश कमिटीका पदाधिकारी, पार्टीका जिल्ला अध्यक्ष, सचिव, प्रचार विभागका जिल्ला प्रमुख र प्रेस चौतारीका नेताहरू सहभागी कार्यशाला दुई दिनसम्म चल्नेछ । कार्यशालामा सञ्चार विज्ञहरु दीपेन्द्र श्रेष्ठ, भुवन केसीले प्रशिक्षण दिनुहुने पार्टीका प्रदेश उपसंयोजक मातृका प्रसाद तिमिल्सिनाले बताउनुभयो । कार्यक्रमका वक्ता नेताहरूले सरकारले गरेका राम्रा कामको प्रचार गर्न र विपक्षीले फैलाइरहेका मिथ्या भ्रमहरू चिर्न पार्टी कार्यकर्ता सक्रिय हुनुपर्नेमा जोड दिएका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?