दार्चुला । दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर १ लास्कु खोला क्षेत्रबाट ४१ किलोग्राम अबैध जडिबुटी सतुवा सहित बाबुछोरा पक्राउ परेका छन् ।
दार्चुला तिंकर सडक खण्ड अन्तरगत लास्कु खोलामा पिठ्युमा प्लाष्टिकको कट्टामा सर समानहरु बोकी हिडिरहेको रुकुम जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ७ सेरीगाँउ बस्ने बर्ष ५० का टोप जंग गिरी र उहाँका छोरा बर्ष २० का उत्सव गिरीलाई प्रहरीले पक्राउ गरेकाे हाे ।
सामान बाेकेर हिडिरहेका दुबै जनालाई शंका लागि चेकजाँच गर्दा टोप जंग गिरीले बोकेको कट्टा भित्र २० किलोग्राम र उत्सव गिरीले बोकेको कट्टा भित्र २१ किलोग्राम गरी जम्मा ४१ किलोग्राम अबैध जडिबुटी (सतुवा) फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
अबैध सतुवासहित दुबै जनालाई पक्राउ गरी बुधबार जिल्ला प्रहरी कार्यालय दार्चुलामा ल्याइएको थियो । लास्कु क्षेत्र अपि नाम्पा संरक्षण क्षेत्र भित्र पर्ने भएकोले दुबै जनालाई बरामद जडिबुटी सहित आवश्यक कारवाहीको लागि आजै अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलामा बुझाईएको प्रहरीले जनाएको छ ।





