कालागाउँ घटनाका अभियुक्त बिष्टमाथि म्याद थपेर अनुसन्धान गरिँदै

दार्चुला । बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ८ कालागाउँका २४ बर्षीय सुरेन्द्र बिष्टको हत्यामा संलग्न सोही ठाउँका कर्णबहादुर बिष्टमाथि अदालतबाट म्याद थपेर अनुसन्धान शुरु गरिएको छ ।

यही फागुन १७ गते राति ९ बजेको समयमा भरुवा बन्दुकबाट गोली प्रहार गरेर कर्णले सुरेन्द्रको हत्या गरेका थिए । हत्यापछि फरार भएका कर्णलाई गएको शुक्रबार प्रहरीले पक्राउ गरेको थियो । भारतसंग सीमा जोडिएको दार्चुलाको दत्तु नाकाबाट उनलाई पक्राउ गरिएको थियो ।

घटना लगत्तै अभियुक्त कर्णको खोजीमा जुटेको प्रहरीले मोबाइल फोनको लोकेशनको आधारमा दार्चुला प्रहरीको सहयोगमा पक्राउ गरेको थियो । पक्राउ परेका कर्णबहादुर बिष्टमाथि कर्तव्य ज्यान मुद्दामा अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बल्देव बडूले जानकारी दिनुभयो ।

जिल्ला अदालत बैतडीबाट १० दिनको म्याद थपेर अभियुक्त बिष्टमाथि अनुसन्धान भइरहेको उहाँले बताउनुभयो। शुक्रबारदेखि नै लागू हुने गरेर आइतबार जिल्ला अदालतले म्याद थप गरेको छ । अभियुक्त बिष्टमाथि सबै कोणबाट अनुसन्धान शुरु गरिएको उहाँले बताउनुभयो ।

४० हजार रुपैयाँ लेनदेनका बिषयमा विवाद हुँदा कर्णबहादुर बिष्टले आफ्नै भाइ नाता पर्ने सुरेन्द्र बिष्टको गोली हानेर हत्या गरेका थिए । कर्णले सुरेन्द्रलाई तिर्नुपर्ने पैसा नतिरेकाले सुरेन्द्रले पैसा तिर्नुपर्ने भन्दै आएका थिए । फागुन १७ गते पनि सोही बिषयमा पहिला विवाद भएको र पछि कर्णबहादुरले गोली चलाएको प्रत्यक्षदर्शीले बताएका छन् । छिमेकीको पसलमा खाना खाइरहेका बेला सुरेन्द्रमाथि कर्णले गोली चलाएका थिए । गोली लाग्ने बित्तिकै ढलेका सुरेन्द्रको उपचारको लागी अस्पताल लैजादै गर्दा मृत्यु भएको थियो ।

करीब ७ महिना अघिमात्रै विवाह बन्धनमा बाँधिएका सुरेन्द्रको परिवार कर्णले उजाड बनाइदिएका छन् । जिप व्यवसाय सञ्चालन गर्दै आएका सुरेन्द्र कहिले नउठ्ने गरेर अस्ताएपछि श्रीमती र घरपरिवारको विचल्ली भएको छ ।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?