दार्चुला । बैतडीको डिलासैनी गाउँपालिका वडा नम्बर ६ गोकुलेश्वरस्थित सेटीगाउँ बहुमुखी क्याम्पसमा अनेरास्ववियुले तालाबन्दी गरेको छ ।
भोलि हुने स्ववियु निर्वाचनका लागि क्याम्पसले फर्जी विद्यार्थी भर्ना गरेको, परिचय पत्र वितरणमा त्रुटी गरेको लगायतका आरोप लगाउँदै अनेरास्ववियुले निर्वाचन समितिको कार्यालयमा तालाबन्दी गरेको हो । फागुन १५ गते सम्म मात्रै विद्यार्थी भर्ना म्याद रहेको भए पनि क्याम्पसमा फागुन २५ गते सम्म विद्यार्थी भर्ना गरेको देखिएको स्ववियु अध्यक्षका उम्मेदवार रमेश मालले बताउनुभयो । साथै क्याम्पस प्रशासनले वितरण गर्नुपर्ने परिचय पत्र पनि विद्यार्थी संगठनहरुले वितरण गरिरहेको उहाँले बताउनुभयो ।
अनेरास्ववियुले फागुन १५ गते पछि भर्ना गरिएका फर्जि विद्यार्थीको भर्ना रद्द गर्नुपर्ने र विद्यार्थी संगठन संग रहेका परिचय पत्र फिर्ता मागी क्याम्पस प्रशासनले नै विद्यार्थी दिनुभपर्ने माग गरेको छ।
फर्जी विद्यार्थीको भर्ना खारेज गर्नुपर्ने र कब्जा गरिएका परिचयपत्र फिर्ता नहुँदा सम्म तालाबन्दी कायम रहने अनेरास्ववियुले विज्ञप्तीमार्फत जानकारी दिएको छ । क्याम्पसमा तालाबन्दी भएपछि भोलि हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन अनिश्चित भएको छ ।
तालाबन्दीपछि सबै विद्यार्थी संगठनहरुलाई छलफलका लागि बोलाइएको निर्वाचन अधिकृत राजेन्द्रप्रसाद जोशीले बताउनुभयो ।
सेटीगाउँ बहुमुखी क्याम्पसमा नेविसंघ र अखिल क्रान्तिकारी तालमेल गरेर चुनावी मैदानमा छन्, भने अनेरास्ववियु एक्लै चुनावी मैदानमा रहेको छ ।
स्ववियु अध्यक्षका लागि नेविसंघ र अखिल क्रान्तिकारीका साझा उम्मेदवारको रुपमा नेविसंघका कृष्णसिंह रावल चुनावी मैदानमा छन् भने अनेरास्ववियु रमेश मालको नेतृत्वमा चुनावी मैदानमा उत्रेको छ ।





प्रतिक्रिया