दार्चुला । आजबाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) दार्चुलामा ६५ जना विद्यार्थी अनुपस्थित भएका छन।
एसईई परीक्षाको पहिलो दिन नियमित तर्फ जिल्ला भरिबाट १० छात्र र ८ छात्रा गरी १८ जना र ग्रेडवृद्धितर्फका २८ छात्र र १९ छात्रा गरी ४७ जना परीक्षार्थी अनुपस्थित भएको शिक्षा विकास तथा समन्वय इकाई दार्चुलाका प्रमुख जयराज पन्तले जानकारी दिनुभयो । जिल्लामा प्राविधिक धार तर्फका भने सबै विद्यार्थी परीक्षामा सहभागी भएको उहाँले बताउनुभयो ।
१७ वटा परीक्षा केन्द्र मार्फत सञ्चालन भइरहेको परीक्षामा नियमित तर्फ सबैभन्दा बढी मालिकार्जुन माध्यमिक विद्यालय धापमा ६ जना अनुपस्थित भएको शिक्षा विकास तथा समन्वय इकाई दार्चुलाका सूचना अधिकारी लक्ष्मीराज जोशीले जानकारी दिनुभयो ।
त्यस्तै ग्रेडवृद्धी तर्फ मार्मा गाउँपालिकामा रहेको तपोवन माध्यमिक विद्यालय परपडामा सबै भन्दा बढी २३ जना विद्यार्थी अनुपस्थित भएको उहाँले बताउनुभयो ।
यस्तै एसइई परीक्षाको माध्यमिक शिक्षा उर्तिण परीक्षा समन्वय समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशी नेतृत्वको टोलीले अनुगमन गरेको छ ।
जिल्ला सदरमुकाम खलंगामा रहेको महेन्द्र नमुना माध्यमिक विद्यालय, छान्ना तिंकरी कन्या माध्यमिक विद्यालय र मालिकार्जुन माध्यमिक विद्यालय धाप लगायतका परीक्षा केन्द्रमा एसईई परीक्षाको अनुगमन गरिएको कार्यालय प्रमुख जयराज पन्तले जानकारी दिनुभयो ।
अनुगमनका क्रममा परीक्षा केन्द्रमा पुगेर प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले परीक्षाको तयारी, व्यवस्थापन लगायतका बारेमा जानकारी लिनुभएको थियो । पहिलो दिनको परीक्षा शान्त र मर्यादित तवरले सम्पन्न भएको कार्यालय प्रमुख पन्तले बताउनुभयो ।





प्रतिक्रिया