दार्चुला । बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ७, खोलामा निर्माण गरिएको शीतभण्डार (कोल्ड स्टोर) औपचारिक रूपमा सञ्चालनमा आएको छ।
आर्थिक वर्ष २०८०÷८१ मा निर्माण सम्पन्न भएको उक्त शीतभण्डार संघीय सरकार र दोगडाकेदार गाउँपालिकाको संयुक्त लगानीमा तयार गरिएको हो। करिब १ करोड रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको कोल्ड स्टोरको भण्डारण क्षमता ५० टन रहेको छ।
दोगडाकेदार गाउँपालिकाले प्रारम्भिक रूपमा शीतभण्डार सञ्चालनमा ल्याउन किसानहरूसँग उत्पादन गरिएको १० टन आलु खरिद गरी भण्डारण गरेको छ। गाउँपालिकाले यसअघि किसानलाई अनुदानमा आलुको बिउ प्रदान गरेको थियो, जसको उत्पादन आफैंले खरिद गरी भण्डारण गरिएको गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले दिनुभयो ।
उहाँका अनुसार स्थानीय किसानहरूले उत्पादन गरेका तरकारी, फलफूल तथा अन्य कृषि उपज कोल्ड स्टोरमा भण्डारण गर्न पाउने छन्। यसबाट किसानहरूलाई आफ्नो उत्पादन बेमौसमी रूपमा उचित मूल्यमा बिक्री गर्न सहज हुनेछ।
कोल्ड स्टोर सञ्चालनमा आएपछि किसानहरू उत्साहित देखिएका छन्। यसअघि बजार अभावका कारण उत्पादन सस्तो मूल्यमा बेच्न बाध्य किसानहरूले अब भने भण्डारण सुविधाको उपयोग गरी उचित समयमा राम्रो मूल्यमा बिक्री गर्न सक्ने अपेक्षा गरेका छन्।
गाउँपालिकाका अध्यक्ष कार्कीका अनुसार कोल्ड स्टोरको स्थापनाले कृषकहरूलाई आधुनिक भण्डारण प्रणालीमार्फत उनीहरूको उत्पादनको मूल्य अभिवृद्धि गर्न मद्दत गर्नेछ। साथै, यसले स्थानीयस्तरमा कृषि उत्पादनमा प्रवर्द्धन गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न टेवा पुर्याउने विश्वास व्यक्त गरिएको छ।





प्रतिक्रिया