दार्चुला । गोकुलेश्वर बहुमुखी क्याम्पस, गोकुलेश्वरमा चैत २७ गतेका लागि तोकिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा अनेरास्ववियुले अध्यक्ष पदका लागि सुनिल डाँगालाई उम्मेदवारको रूपमा अघि सारेको छ।
सुनिल डाँगा गोकुलेश्वर क्याम्पसका नियमित विद्यार्थी हुनुका साथै विद्यार्थी राजनीति र नेतृत्वमा लामो अनुभव बोकेका एक सक्रिय र लोकप्रिय विद्यार्थी नेता मानिन्छन्। उहाँले विद्यार्थीहरूका शैक्षिक, सामाजिक तथा संरचनागत समस्याहरूको निरन्तर आवाज उठाउँदै आउनुभएको छ । क्याम्पसमा डाँगाले नेतृत्वदायी भूमिका निर्वाह गर्दै विभिन्न रचनात्मक र जागरुकतामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आउनुभएको छ।
राजनीतिक यात्राको सुरुवात अनेरास्ववियु गोकुलेश्वर माध्यमिक विद्यालय कमिटीको सचिव पदबाट गरेका डाँगा त्यसपछि क्रमशः क्याम्पस कमिटी सदस्य, स्ववियुका सहसचिव हुँदै अनेरास्ववियुको १४ औं जिल्ला अधिवेशनबाट उपाध्यक्ष पदमा निर्वाचित हुनुभएको थियो । हाल उहाँ अनेरास्ववियुबाट गोकुलेश्वर बहुमुखी क्याम्पसको सभापति पदका उम्मेदवार हुनुहुन्छ ।
“क्याम्पसको शैक्षिक गुणस्तर अभिवृद्धि, संस्थागत सुधार, विद्यार्थीहरूको हकअधिकारको संरक्षण र स्ववियुको सशक्तीकरणमार्फत नेतृत्व विकासमा योगदान पुर्याउने हाम्रो मूल उद्देश्य हो,” उम्मेदवारी दर्तापछि डाँगाले प्रतिक्रिया दिँदै भन्नुभयो, “विद्यार्थीहरूको विश्वास र समर्थन प्राप्त गर्दै आगामी निर्वाचनमा विजयी भइ सशक्त विद्यार्थी नेतृत्व सुनिश्चित गर्ने अपेक्षा लिएको छु।”
उहाँले सबै विद्यार्थीहरूलाई लोकतान्त्रिक प्रक्रियामार्फत आफ्नो मताधिकार प्रयोग गरी अनेरास्ववियुका उम्मेदवारहरूलाई विजयी गराइदिन अनुरोध समेत गर्नुभएको छ ।





प्रतिक्रिया