दार्चुला । महाकाली कोरिडोर अन्तरगत नेपाली सेनाले निर्माण गरिरहेको दार्चुला–टिंकर सडक खण्डमा बजेट अभाव हुँदा सन्तोषजनक कार्य प्रगति हुन सकेको छैन् । बजेट अभावमा सेनाले न्यून लक्ष्य राखेर काम गरिरहेको छ । ७९ किलोमिटर लामो यो सडक खण्डमा चालु वर्षमा एक किलोमिटर आठ सय मिटर मात्रै नयाँ ट्रयाक निर्माणको लक्ष्य राखिएको छ भने एक किलोमिटर दुई सय मिटर सडक चौडा बनाएर स्तरोन्नती गरिएको छ ।
सरकारबाट प्राप्त बजेट अनुसार लक्ष्य निर्धारण गरेर नेपाली सेनाले टिंकर सडकमा काम गरिरहेको नेपाली सेनाका सूचना अधिकारी गौरव कुमार केसीले बताउनुभयो । बजेट अभावमा टिंकर सडकमा सन्तोषजनक प्रगति हुन नसकेको भन्दै स्थानीयबासी र जनप्रतिनिधिले पटकपटक सरकारसंग अनुरोध गरेपनि माग र आवश्यकता अनुसार बजेट थप गरिएको छैन् । तुषारपानीनजिकैको फतङगाड खोलापारीको चट्टानी भूभागमा यो वर्ष दुई सय मिटर लामो ट्रयाक खोलिएको छ । व्याँस गाउँपालिका–२ आतुङती क्षेत्रमा पाँच सय मिटर र तम्बाकु क्षेत्रमा पाँच सय मिटरभन्दा बढी नयाँ ट्रयाक निर्माण गरिएको छ । व्याँस गाउँपालिका–३ तुषारपानीदेखि वडा नम्बर २ को माल, कोठधार, सगनाडी, दुम्लिङ, कल्जु र तम्बाकु क्षेत्रमा सडक निर्माण कार्य भइरहेको बताइएको छ । सेनाले सडक निर्माणको जिम्मा लिएको सडक खण्डको सुरुवातीदेखि पाँच किलोमिटर सम्मको सडकमा माघ अन्तिम सातादेखि गाडी सञ्चालन भएको छ । दार्चुला–टिंकर सडक खण्डको व्याँस गाउँपालिका–२ मालगाउँसम्मको सडकमा गाडी पुगेको उहाँले बताउनुभयो ।
चालू आर्थिक वर्षमा टिंकर सडक निर्माणका लागि सेनालाई नौँ करोड मात्रै बजेट दिइएको छ । बजेट अभावमा सडक निर्माणको कार्य बन्द हुने अवस्थामा छ । अर्थ मन्त्रालयले फागुन १८ गते टिंकर सडक निर्माणका लागि सेनालाई पाँच करोड रुपियाँ बजेट थपेको छ । तर थपिएको बजेटबाट व्याँस गाउँपालिका–१ छाङरुमा सेनाको क्याम्प निर्माण गर्ने र स्काइभेटर मेसिन ढुवानी गर्ने योजना रहेको बताइएको छ । थपिएको बजेटबाट क्याम्प निर्माण, स्काइभेटर र कम्प्रेसर मेसिन ढुवानी, जिलेटिन, डिजेलसहितको निर्माण सामग्री व्यवस्थापन गरिने भएको छ । सामग्री व्यवस्थापन र क्याम्प निर्माणमा बढी खर्च हुने भएकोले थपिएको पाँच करोड बजेटले सडक निर्माण कार्यमा निरन्तरता हुने अवस्था नरहेकोले थप बजेट आवश्यक छ । हाल सडक निर्माण भइरहेको क्षेत्रमा निर्माण कार्यलाई निरन्तरता दिनेगरी अझै बजेट थप्नुपर्ने आवश्यकता रहेको वडाअध्यक्ष अशोकसिंह बोहराले बताउनुभयो ।

आर्थिक वर्ष २०७७/७८ देखि सडक निर्माण कार्य थालेको सेनाले हालसम्म करिब १५ किलोमिटर सडकको ट्रयाक खुलाएको छ भने आठ मिटर चौडाइको आठ किलोमिटर सडक स्तरोन्नती कार्य गरेको छ । कुल ७९ किलोमिटर लामो दार्चुला–टिंकर सडक खण्डमध्ये हालसम्मको समष्टिगत भौतिक प्रगति सन्तोषजनक छैन् ।
चर्चा धेरै तर बजेट थोरै पाउने गरेको टिंकर सडकखण्ड लक्ष्य अनुसार निर्माण सम्पन्न गर्न करिब पाँच अर्ब बजेट आवश्यक छ । पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको टिंकर सडकमा भगौलिक कठिनाई, उपकरण र बजेट अभावमा कार्यप्रगति सन्तोषजनक हुन सकेको छैन् । सरकारले टिंकर सडकमा प्रयाप्त बजेट विनियोजन गर्नुपर्ने व्याँस गाउँपालिका अध्यक्ष मंगलसिंह धामीले बताउनुभयो । आर्थिक, धार्मिक, पर्यटकीय विकास र राष्ट्रिय स्वाधिनतासंग जोडिएको सामरिक महत्तको टिंकर सडकमा प्रयाप्त बजेट विनियोजन गरेर प्राथमिकताका साथ निर्माण गर्नुपर्ने उहाँको भनाई छ ।
कैलाश मानसरोवर तिर्थयात्राका लागि टिंकर सडक
दार्चुलासहित सुदूरपश्चिमको आर्थिक, धार्मिक र पर्यटकीय विकासको आधार मानिएको महाकाली कोरिडोर अन्तरगत निर्माणाधीन दार्चुला–टिकंर सडक कैलाश मानसरोवर तिर्थको प्रवेशद्धार पनि हो । टिंकर सडक निर्माणपछि धर्मालम्बीहरुको आस्थाको धरोहर कैलाश मानसरोवर यात्रा छोटो र सहज हुने अपेक्षा गरिएको छ । धार्मिक दृष्टिकोणले सुदूरपश्चिम देवभूमिका रूपमा परिचित छ ।
महाकाली करिडोरमा पर्ने कञ्चनपुरको सिद्धवैजनाथधाम, डडेल्धुराको परशुरामधाम, बैतडीको त्रिपुरासुन्दरी र दार्चुलाको मालिकार्जुनधाम हुँदै चौलानी र महाकालीमा स्थान गर्दै कैलाश मानसरोवर पुग्न सकिने भएकाले महाकाली कोरिडोर निर्माणपछि यहाँका धार्मिक पर्यटनको विकासमा सहयोग पुग्ने व्याँसका स्थानीय समेत रहनुभएका पूर्व प्रदेशसभा सदस्य गेल्बुसिंह बोहराले बताउनुभयो । कोरिडोर निर्माणसम्पन्न भएपछि आर्थिक व्यापारिक चहलपहल बढ्नुका साथै धार्मिक तिर्थयात्राका लागि समेत सहज हुने उहाँको भनाई छ ।

भारतको उत्तराखण्डसँग सुदूरपश्चिमबासीको धार्मिक सम्बन्ध भएकोले नेपाल र भारत दुबै देशका नागरिकले यो सडक प्रयोग गर्न सक्नेछन् । टिंकरसम्म सडक निर्माण भएपनि नेपालको सुदूरपश्चिमका मालिकार्जुन, त्रिपुरासुन्दरी, उग्रतारा, परशुराम, बैजनाथ लगायत विभिन्न धार्मिक स्थलमा पुग्ने र भारतको हरिद्वार, ऋषिकेष, हिमाञ्चलमा आउने तेस्रो मुलुकका पर्यटकका लागि समेत कैलाश मानसरोवरसम्म पुग्न सहज हुनेछ ।
कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जदेखि दार्चुलाको अपिनाम्पा संरक्षण क्षेत्रसम्म सम्म पुग्न पनि करिडोर निर्माणपछि सहज हुनेछ । भारत र चीन दुबै देशसँगको व्यापारको ढोका खोल्ने र कैलाश मानसरोवर लगायत विभिन्न धार्मिक तिर्थस्थलका साथै पर्यटकीय गन्तव्यहरुसम्म पुग्न सहज हुने भएकोले टिंकरसम्म प्राथमिकताका साथ सडक निर्माण गर्नु आवश्यक छ ।
सम्बन्धित समाचारः सुदूरको समृद्धिको आधार महाकाली कोरिडोर, बजेट अभावले कार्यप्रगति सुस्त (विस्तृत)
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।




