दार्चुला । नेपाली सेनाले दार्चुला सदरमुकाम खलंगालाई व्यास गाउँपालिकाको छाङरु र तिङ्कर गाउँसित जोड्ने घोडेटो बाटो हस्तान्तरण तथा उद्घाटन गरेको छ । सेनाका सुदूरपश्चिम पृतनापति निर्मलकुमार थापाले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई सोमबार उक्त बाटो हस्तान्तरण गर्नुभएको हो ।
घाँटीबगर क्षेत्रमा बाटो निर्माण सम्पन्न भएपनि तम्बाकु भिरमा अझैपनि अप्ठ्यारो बाटो भएकोले सहज आवागमनका लागि तम्बाकु भिर फुटाएर बाटो निर्माण गरिदिन स्थानीयले सरकारलाई आग्रह गरेका छन् । घाँटीबगर ईलाकाको घोडेटो बाटोको स्थलगत निरीक्षण गर्दै सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले संघीय सरकारले थप बजेट विनियोजन नगरे प्रदेश सरकारबाट बजेट विनियोजन गरेर तम्बाकु भिरमा बाटो निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । मुख्यमन्त्री भट्टले अत्यन्तै कठिन भिरमा सफलतापुर्वक बाटो निर्माण सम्पन्न गरेकोमा नेपाली सेनालाई धन्यबाद व्यक्त गर्नुभयो ।

नेपाली सेनाले झण्डै चार महिनाको अबिरल प्रयासपछि व्यास गाउँपालिका–१ घाँटीबगरस्थित अत्यन्तै कडा र अप्ठेरो भिर फोरेर उक्त बाटो निर्माण गरेको हो । एक करोड आठ लाख खर्च गरेर महाकाली नदी किनारको उक्त क्षेत्रमा सेनाले चट्टानी भिर फोरेर दुई मिटर चौडाइ भएको ५५० मिटर लामो बाटो निर्माण गरेको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिनुभयो । बाटो निर्माण गर्न चार महिनासम्म सेनाका ६५ तथा स्थानीय करिब ४० जनाको जनशक्ति दैनिकरुपमा परिचालन गरिएको थियो ।
झण्डै ४० वर्षअघि सो क्षेत्रमा पहिलो पटक घोडेटो बाटो निर्माण गरिएको थियो । बर्सेनी हिमपातसँगै पहिरो खस्दा बाटो अवरुद्ध हुँदै आएको थियो । त्यसैमाथि महाकालीको बाढीले बाटोको निसानै मेटाइ दिँदा यहाँका झण्डै दुई सय घरधुरीका बासिन्दा दुई दशकदेखि खलंगापारीको भारतीय क्षेत्र धारचुला हुँदै भारतकै बाटो प्रयोग गरी पैदल छाङरु र तिङ्कर आवतजावत गर्न बाध्य थिए । नेपाली सेनाले भिर फोडेर बाटो बनाएपछि अब शौका समुदायका साथै सुरक्षाकर्मी र कर्मचारीहरुलाई नेपाली भूमि भएर व्यास जान सहज भएको व्यासका स्थानीय एबं प्रदेश सभा सदस्य गेल्बुसिह बोहराले बताउनुभयो । जेठ दोस्रो साता तीन महिनाभित्र सम्पन्न गर्ने लक्ष्यका साथ शुरु गरिएको उक्त बाटो निर्माणको काम अप्ठ्यारो भूगोल, भारतीय अवरोध र बर्षातका कारण केही समय प्रभावित भएको थियो ।
उक्त बाटो निर्माण सम्पन्न भएसंगै सोमबार प्रदेश सरकारलाई हस्तान्तरण गरिएको नेपाली सेना दुर्गादल गुल्म दार्चुलाका गुल्मपति बिक्रमदेब थापाले जानकारी दिनुभयो । घोडेटो हस्तान्तरण तथा उद्घाटन कार्यक्रममा मुख्यमन्त्री त्रिलोचन भट्ट, नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेल, सुदूरपश्चिम पृतनापति निर्मलकुमार थापा, २५ नम्बर बाहिनि अड्डा कञ्चनपुरका बाहिनिपति कृष्ण जिसी, प्रदेश सभा सदस्य गेल्बुसिह बोहरा, दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेल लगायतको सहभागिता रहेको थियो ।
बाटो हस्तान्तरण एबं उद्घाटन कार्यक्रम सम्पन्न भएपछि सोमबार दिउँसो नै मुख्यमन्त्री त्रिलोचन भट्ट सहित नेपाली सेनाको टोली धनगढी फर्किएको छ ।








